व्यापार तनाव घटाउन इयु–चीन वार्ता


ब्रसेल्स, १९ असोज । बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ) इयु र चीन व्यापार तनाव कम गर्न वार्तामा जुट्ने भएका छन् । इयुका व्यापार प्रमुख मारोस सेफकोभिक बिहीबार दुईदिने वार्ताका लागि बेइजिङ जाने कार्यक्रम छ ।

सन् २०२५ मा चीनसँग इयुको व्यापार घाटा करिब तीन खर्ब ६० अर्ब युरो पुगेको थियो । चीनबाट विद्युतीय तथा हाइब्रिड कार, मेसिनरी, कपडा, धातु र रसायनलगायत वस्तुको आयात बढिरहेकाले इयुले युरोपेली उद्योगको संरक्षणका उपाय अघि बढाइरहेको छ ।

गत जुनदेखि जारी वार्तामा इयुले चिनियाँ आयात व्यवस्थापन, चीनमा युरोपेली निर्यात बढाउने तथा दुर्लभ पृथ्वीलगायत महत्त्वपूर्ण सामग्रीको निर्यातलाई सहज र पूर्वानुमानयोग्य बनाउने विषयमा प्रगति चाहेको छ । इयुले हाइब्रिड कारलगायत चिनियाँ उत्पादनमा स्वैच्छिक निर्यात सीमा तोक्ने विकल्प पनि अघि सारेको छ । तर चीनले आयात कोटा वा कडा प्रतिबन्धको विरोध गर्दै आएको छ ।

यसैबीच, इयुले चीनमाथिको निर्भरता घटाउन आपूर्तिकर्ता विविधीकरण तथा आफ्ना उद्योगको संरक्षणका लागि नयाँ व्यापारिक उपाय तयार गरिरहेको छ । बेइजिङले भने इयुका ‘भेदभावपूर्ण प्रतिबन्धात्मक उपाय’ विरुद्ध कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ ।

विज्ञहरूले यस साताको वार्ताबाट समग्र व्यापार सम्बन्धमा ठूलो उपलब्धिभन्दा विशिष्ट विषयमा सहमति हुन सक्ने बताएका छन् । जर्मन मार्शल फन्डकी पेनी नासले इयुसँग चीनबाट आएको चुनौती सामना गर्न थप आक्रामक कदम चाल्ने क्षमता भए पनि त्यसका लागि राजनीतिक इच्छाशक्ति कति छ भन्ने प्रश्न बाँकी रहेको बताएका छन् । रासस