पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर



तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक वर्षको अवधिमा सात दशमलव दुई कलोमिटर सडक कालोपत्र, १० किलोमिटर ग्रावेल र नौ किलोमिटर नयाँ सडकको ट्रयाक निर्माण गरेको छ।

गाउँपालिकाले सडक, पुल, खानेपानी तथा सिँचाइ, नदी नियन्त्रण, पार्कलगायत भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ। पछिल्लो एक वर्षमा मात्रै गाउँपालिकाभित्र चार वटा पार्क निर्माण भएका छन् भने सात किलोमिटर ढल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए।

यस अवधिमा एक किमी नदी नियन्त्रण, छ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार र तीन वटा पोखरी निर्माण गरिएको छ। त्यस्तै एउटा नयाँ विद्यालय भवन र चार वटा प्रतीक्षालय निर्माण गरिएको छ । सामुदायिक पूर्वाधारतर्फ चार वटा सामुदायिक वनसम्बन्धी काम भएको थापाले बताए।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि हालसम्म बन्दीपुर गाउँपालिकामा ३७ दशमलव दुई किमी सडक कालोपत्र भएको छ । त्यस्तै ७० किमी सडक ग्रावेल र ७९ किमी नयाँ सडकको ट्रयाक खोलिएको अध्यक्ष थापाले जानकारी दिए।

गाउँपालिकाका विभिन्न बस्ती तथा ग्रामीण क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने उद्देश्यले नयाँ ट्रयाक खोल्ने, पुराना सडक स्तरोन्नति गर्ने र आवश्यकता तथा प्राथमिकताका आधारमा कालोपत्र गर्ने कामलाई निरन्तरता दिइएको थापाको भनाइ छ।

सडकसँगै यातायात आवागमन सहज बनाउन गाउँपालिकाले पुल निर्माणलाई प्राथमिकता दिएको छ । हालसम्म २५ वटा मोटरेबल पुल र १२ वटा झोलुङ्गे पुल निर्माण भएको गाउँपालिकाले जनाएको छ । यसबाट सडक सञ्जाल पुगेका स्थानमा खोलानाला तथा नदीका कारण हुने आवागमनको समस्या न्यूनीकरण भएको थापाले उल्लेख गरे।

बन्दीपुर गाउँपालिकाले पूर्वाधार विकाससँगै सार्वजनिक तथा पर्यटकीय क्षेत्रको सौन्दर्यीकरणलाई प्राथमिकता दिएको छ। हालसम्म ४९ वटा पार्क निर्माण गरिएको छ। वर्षाको पानी तथा घरबाट निस्कने फोहोर पानीको व्यवस्थापनका लागि ७८ किमी ढल निर्माण गरिएको छ । बाढी तथा कटानको जोखिम न्यूनीकरणका लागि पाँच किलोमिटर नदी नियन्त्रणको काम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।

कृषि उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले सिँचाइ पूर्वाधार निर्माणमा पनि लगानी गरेको छ । हालसम्म एक हजार ८६२ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको अध्यक्ष थापाले जानकारी दिए।

कृषियोग्य जमिनमा सिँचाइको पहुँच विस्तार भएपछि वर्षामा मात्र निर्भर हुनुपर्ने अवस्थालाई कम गर्न सहयोग पुगेको गाउँपालिकाको अपेक्षा छ । पछिल्लो एक वर्षमा मात्रै थप छ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको छ।

गाउँपालिकाले जलस्रोत संरक्षण तथा स्थानीय पूर्वाधार विकासअन्तर्गत हालसम्म छ वटा ताल निर्माण तथा संरक्षणसम्बन्धी काम गरेको जनाएको छ । पछिल्लो एक वर्षमा तीन वटा पोखरी निर्माण गरिएको छ।

फोहर व्यवस्थापनका लागि गाउँपालिकामा एउटा डम्पिङ साइट र एउटा स्यानिटरी ल्याण्डफिल्ड निर्माण गरिएको छ । बढ्दो बस्ती तथा पर्यटकीय गतिविधिसँगै उत्पादन हुने फोहरको व्यवस्थित व्यवस्थापनका लागि यी संरचना निर्माण गरिएको थापाको भनाइ छ।

गाउँपालिकाले सडक तथा भौतिक पूर्वाधारसँगै शिक्षा र स्वास्थ्यका आधारभूत संरचना निर्माणलाई पनि प्राथमिकता दिएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि हालसम्म छ वटा विद्यालय भवन र सात वटा स्वास्थ्य चौकी निर्माण गरिएको छ।

त्यस्तै गाउँपालिकाका विभिन्न स्थानमा ५४ वटा प्रतीक्षालय निर्माण भएका छन् । स्थानीय समुदायका कार्यक्रम तथा सामाजिक गतिविधिका लागि आवश्यक ७४ वटा सामुदायिक भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।

अध्यक्ष थापाले गाउँपालिकाले उपलब्ध स्रोतसाधनलाई प्राथमिकताका क्षेत्रमा परिचालन गर्दै पूर्वाधार निर्माणलाई विकासको आधारका रूपमा अघि बढाएको बताए। उनका अनुसार सडक, पुल, सिँचाइ, नदी नियन्त्रण, शिक्षा, स्वास्थ्य र सार्वजनिक संरचनाको विकासले स्थानीय बासिन्दाको दैनिक जीवन सहज बनाउने मात्र नभई आर्थिक गतिविधि विस्तारमा सहयोग पुर्‍याउनेछ।

बन्दीपुर पर्यटकीय क्षेत्रका रूपमा परिचित भएकाले सडक, पार्क, प्रतीक्षालयलगायतका पूर्वाधार निर्माणले पर्यटन गतिविधिलाई सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ। रासस