म सभापति भएँ भने कांग्रेसलाई एक बनाउँछु : किशोरसिंह राठौर


काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्दै सभापति निर्वाचित भए कांग्रेसलाई एकताबद्ध बनाउने बताएका छन्। उनले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सभापति पदमा गगनकुमार थापासँग प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्।

राठौरले रातारात देशमा परिवर्तन सम्भव नहुने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई काम गर्ने समय दिनुपर्ने बताए।

‘रातारात केही हुनेवाला छैन। पाँच वर्ष कुर्नुहोस्। नेपाली जनताले रास्वपालाई जिताएका छन्। म उहाँहरूको कामको सफलताको शुभकामना दिन चाहन्छु, विरोध गर्न चाहन्नँ,’ उनले भने।

कांग्रेस सभापति भए पार्टीलाई एकताबद्ध बनाउने उनको दाबी छ। कांग्रेसभित्र विभाजन बढेको उल्लेख गर्दै उनले आगामी स्थानीय र प्रदेश निर्वाचनमा त्यसको प्रभाव देखिन सक्ने बताए।

‘आज कांग्रेसका दुई–दुई वटा अधिवेशन हुँदैछन्। रास्वपाले कांग्रेसलाई भित्तामा पुर्‍याएको छ। कम्युनिस्टहरू मिलेर जाने परिस्थिति छ। कांग्रेसको अधिवेशन दुई वटा हुँदै गर्दा भोलि आउने स्थानीय र प्रदेश निर्वाचनमा के हुन्छ, छ महिनापछि हामी भोगिहाल्छौँ। त्यसैले म सभापति भएँ भने कांग्रेसलाई एक बनाउँछु,’ उनले भने।

राठौरले पार्टीका नेता तथा कार्यकर्तालाई न्याय दिलाउने आफ्नो प्राथमिकता रहेको बताए। देशभरका कांग्रेस कार्यकर्तालाई समान व्यवहार र अवसर सुनिश्चित गर्ने उनको भनाइ छ।

उनले कांग्रेसभित्र बढेको अराजकता अन्त्य गरी पार्टीलाई मर्यादित बनाउने दाबीसमेत गरे।

‘अहिले समाज अराजक भएको छ, सामाजिक परिवेश अराजक भएको छ। कांग्रेसभित्र पनि अराजकता बढेको छ। त्यसैले म सभापति भएँ भने कांग्रेसलाई मर्यादित बनाउँछु, कांग्रेसका कार्यकर्तालाई मर्यादित बनाउँछु,’ उनले भने।

राठौरले बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले स्थापित गरेको कांग्रेसको राजनीतिक मर्यादालाई पुनःस्थापित गर्ने उद्देश्यले आफूले सभापतिमा उम्मेदवारी दिन लागेको बताए।