काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले पार्टीको १५औँ महाधिवेशनमा सह-महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। कर्णाली र पिछडिएका क्षेत्रका मुद्दालाई केन्द्रीय राजनीति र पार्टीको निर्णय तहसम्म पुर्याउने उद्देश्यका साथ आफूले सह-महामन्त्रीमा दाबी पेस गरेको शाहीले बताएका छन्।
आफ्नो उम्मेदवारी कुनै पद प्राप्तिको व्यक्तिगत चाहना मात्र नभएर भौगोलिक रूपमा पछि परेका क्षेत्र, अवसरबाट वञ्चित समुदाय र कार्यकर्ताको आवाजलाई केन्द्रसम्म पुर्याउने जिम्मेवारीका लागि भएको शाहीको भनाइ छ। दुर्गममा रहेका कारण आफ्ना मुद्दाहरू दुर्गममै सीमित हुन नहुने उल्लेख गर्दै उनले पार्टीको निर्णय प्रक्रिया र समान अवसर वितरणमा पिछडिएको क्षेत्रको प्रभावकारी उपस्थिति हुनुपर्नेमा जोड दिएका छन्।
हुम्लाबाट राजनीतिक यात्रा सुरु गरी कर्णाली प्रदेशको मुख्यमन्त्री तथा सङ्घीय सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भइसकेका शाहीले आफ्ना प्राथमिकताहरू पनि अघि सारेका छन्। उनले पिछडिएको क्षेत्रको सम्मानजनक प्रतिनिधित्व, कार्यकर्ताका लागि न्यायपूर्ण पहुँच, युवा तथा महिला नेतृत्व विकास, दुर्गम क्षेत्रमा साङ्गठनिक सुदृढीकरण, र केन्द्र एवम् गाउँबीचको दूरी घटाउन निरन्तर संवादलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।




प्रतिक्रिया