खाना पकाउने ग्यासको अभाव चुलिँदै,महासंघले गर्याे निगमकाे ध्यानाकर्षण


काठमाडौं । खाना पकाउने ग्यासको अभाव चुलिँदै गएपछि ग्यास बिक्रेता महासंघ नेपालले आयल निगमको ध्यानाकर्षण गराएको छ ।

महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलरमार्फत मात्र बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकभन्दा धेरै सिलिन्डर हुनु नै ग्यास अभावको मुख्य कारण रहेको बताएका छन् ।

यो सत्यलाई बेवास्ता गर्दै विभिन्न ग्यास उद्योगहरूले धमाधम २५ सय देखि २७ सय रुपैयाँसम्ममा नयाँ सिलिन्डर बिक्री गरिरहेको भन्दै महासंघले कडा आपत्ति जनाएको छ ।

बजारमा रहेका अनावश्यक सिलिण्डरको धरौटी रकम फिर्ता गर्नुको सट्टा आगामी वर्षहरूमा आम उपभोक्तालाई लुट्ने उद्देश्यले ५ किलो, १९ किलो, ५० किलो र ४५० किलोका नयाँ सिलिन्डर बिक्री गर्ने योजना ल्याइएको भन्दै त्यस्तो योजना सभ्य समाजलाई स्वीकार्य नहुने महासंघको चेतावनी छ ।