काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा साङ्गठनिक पुनर्संरचना र युवा नेतृत्व चयनको बहस तीव्र बनेको छ। यसै क्रममा कतारलाई कर्मथलो बनाएर दुई दशकभन्दा बढी समयदेखि जनसम्पर्क समिति र सामाजिक क्षेत्रमा सक्रिय विमल सुवेदीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
देशको अर्थतन्त्रलाई टेको दिने लाखौँ प्रवासी नेपाली र खाडीका श्रमिकहरूको आवाजलाई पार्टीको नीति निर्माणको सर्वोच्च थलोसम्म पुर्याउन आफूले केन्द्रीय समितिमा दाबी प्रस्तुत गरेको सुवेदीले बताएका छन्।
विद्यार्थी राजनीतिदेखि जनसम्पर्क समितिसम्म
नेपाल विद्यार्थी सङ्घ कास्की क्षेत्र नं. १ को क्षेत्रीय सदस्यका रूपमा साङ्गठनिक यात्रा प्रारम्भ गरेका सुवेदी नेपाली जनसम्पर्क समिति कतारका संस्थापक महासचिव तथा पूर्वसभापति हुन्।

कतार पुगेपछि कांग्रेसको वैचारिक उपस्थिति र साङ्गठनिक विस्तारमा नेतृत्वदायी भूमिका खेलेका सुवेदी पार्टीका १२औँ, १३औँ र १४औँ महाधिवेशनमा लगातार महासमिति सदस्य रहँदै आएका छन्। लामो समयदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सङ्गठित गर्दै आएका उनीसँग पार्टीको साङ्गठनिक संरचना र नीतिगत बहसबारे गहिरो अनुभव छ।
श्रमिकका मुद्दा र सामाजिक सुरक्षा
खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकका समस्या, श्रम शोषण, पारिश्रमिक विवाद, स्वास्थ्य जोखिम तथा कानुनी जटिलतालाई नजिकबाट अनुभूत गरेका सुवेदीले प्रवासमा रहेका नेपालीको हकहितका लागि निरन्तर आवाज उठाउँदै आएका छन्।
कोरोना महामारीका बेला कतारमा रहेका नेपालीहरूको उद्धार तथा राहत कार्यमा सक्रिय उनी वैदेशिक रोजगारीमा रहेका श्रमिकको सम्मान, सामाजिक सुरक्षाको ग्यारेन्टी र उनीहरूले आर्जन गरेको पुँजी तथा सीपलाई स्वदेशको विकासमा परिचालन गर्ने स्पष्ट नीतिको पक्षमा उभिएका छन्।
“नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने प्रवासी नेपालीलाई चुनाव वा पार्टी महाधिवेशनका बेला मात्र सम्झिने परम्परा अब अन्त्य हुनुपर्छ,” सुवेदी भन्छन्, “राज्य र राजनीतिक दलहरू प्रवास नीतिको सवालमा अझ बढी जिम्मेवार र संवेदनशील बन्नुपर्छ।”
सानेपामा प्रवासको आवाज
कांग्रेसलाई आधुनिक र गतिशील बनाउन स्वदेश र विदेशमा रहेका कार्यकर्ताबीच बलियो सेतु आवश्यक रहेको उल्लेख गर्दै सुवेदीले १५औँ महाधिवेशनका प्रतिनिधिहरूसँग मत माग्दै सहयोगको अपिल गरेका छन्।
दुई दशकभन्दा बढी निष्ठापूर्वक पार्टी र समाजसेवामा बिताएका सुवेदीको उम्मेदवारीलाई कतारको खाडी, मलेसियाका फ्याक्ट्री र विश्वभर फैलिएका नेपालीको आवाजलाई सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा प्रत्यक्ष पुर्याउने प्रयासका रूपमा हेरिएको छ।





प्रतिक्रिया