सभापतिमा उम्मेदवारी दर्ता गराएका श्यामकृष्ण खड्गीले गगन थापालाई के भने ?


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत महत्वाकांक्षाभन्दा पार्टीभित्रको लोकतान्त्रिक अभ्यास बलियो बनाउने अभियानका रूपमा प्रस्तुत गरेका छन्।

कांग्रेसमा आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको दाबी गर्दै खड्गीले पार्टीको विधि, पद्धति र संस्थागत अभ्यासलाई मजबुत बनाउन प्रतिस्पर्धा आवश्यक रहेको बताए।

‘नौ जना सभापति निर्वाचित भएर सभापति भएका छन् । १५औँ महाधिवेशनमा पनि निर्वाचित भएर सभापति हुनुपर्छ भन्ने मान्यताका साथ म आएको हुँ,’ उनले भने।

खड्गीले आफूलाई सभापतिको प्रतिस्पर्धामा आउनुपर्ने तर अवसरबाट वञ्चित हुन सक्ने नेताहरूको प्रतिनिधिका रूपमा समेत प्रस्तुत गरे। कांग्रेसभित्र लोकतान्त्रिक प्रतिस्पर्धाको वातावरण निर्माण गर्न आफू मैदानमा आएको उनको भनाइ छ।

सभापति गगन थापाप्रति भने खड्गीले सम्मान र सद्भाव रहेको बताए। उनले थापालाई आफ्नो ‘आदरणीय नेता’ भन्दै आफू कुनै समय थापाकै शिक्षकसमेत रहेको स्मरण गरे।

‘म सिद्धार्थ बनस्थलीमा उहाँको शिक्षक थिएँ, त्यही विद्यालय उहाँ विद्यार्थी,’ खड्गीले भने।

करिब चार दशकदेखि आफू लोकतन्त्रका लागि प्रतिबद्ध भएर काम गर्दै आएको दाबी गर्दै उनले सभापतिको निर्वाचनको परिणामलाई व्यक्तिगत रूपमा नलिने बताए।

‘विजय–पराजय जे भए पनि मतलब छैन, म कांग्रेसलाई बलियो बनाउन आएको हुँ,’ उनले भने।