काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मनोनयन दर्ता जारी रहे पनि सभापतिका प्रमुख दाबेदार गगनकुमार थापाले भने अहिलेसम्म उम्मेदवारी दर्ता गराएका छैनन्।
राष्ट्रिय सभागृहमा निर्वाचन समितिले मनोनयन दर्ता गराइरहेको छ। सभापतिमा उम्मेदवारी घोषणा गरेका श्यामकृष्ण खड्गीले भने मनोनयन दर्ता गराइसकेका छन्। अर्का दाबेदार किशोरसिंह राठौरको मनोनयन पनि अहिलेसम्म दर्ता भएको छैन।
यता पदाधिकारीका अन्य पदमा भने उम्मेदवारी दिने क्रम तीव्र बनेको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन्। हालसम्म वरिष्ठ उपसभापतिमा उनको एकल उम्मेदवारी परेको छ।
उपसभापति, महामन्त्री र सहमहामन्त्रीका विभिन्न पदमा पनि उल्लेख्य संख्यामा उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।
खुला उपसभापतिमा डा. चन्द्रमोहन यादव, सुरेन्द्रराज पाण्डे, डा. मीनेन्द्र रिजाल, गोविन्द भट्टराई, देवराज चालिसे र मधुप्रसाद आचार्यले उम्मेदवारी दर्ता गराएका छन्।
समावेशी उपसभापतिमा विनोद चौधरी, फरमुल्लाह मन्सुर र जीवन परियार तथा महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी परेको छ।
महिला महामन्त्रीमा डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय ‘डिना’ तथा खुला महामन्त्रीमा शंकर तिवारी, सुनिल शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, गुरुराज घिमिरे र अमरसिंह पुनले उम्मेदवारी दिएका छन्।




प्रतिक्रिया