म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङबाट जटिल अवस्थामा एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
मल्कवाङ स्वास्थ्य चौकीबाट धवलागिरि गाउँपालिका–४ की २१ वर्षीया सम्झना लामगाडेको हेलिकप्टरबाट मंगलबार उद्धार गरिएको हो । उनलाई पोखराको गण्डकी अस्पताल लगिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र प्रदेश अस्पताल बेनीसँग समन्वय गरेर सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर पोखरा लगिएको धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए।
भौगोलिक रुपमा विकट मल्कवाङ जोड्ने सडक मनसुनजन्य विपद्का कारण अवरुद्ध बनेकाले निःशुल्क हवाई उद्धार गरिएको हो। गण्डकी प्रदेश सरकारले जटिल अवस्थाका भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका गर्भवति तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गर्दै आएको छ।
यसअघि गत आइतबार धवलागिरि गाउँपालिका–४ की २३ वर्षीया झरना छन्त्याललाई पनि हेलिकप्टरबाट उद्धार गरेर गण्डकी अस्पताल पोखरामा लगेर प्रसूति गराइएको थियो।




प्रतिक्रिया