विराटनगर । पशुपतिनाथको मुख्य मन्दिरमा गैर हिन्दु प्रवेश गरेको घटनामा जोडिएका इटहरीकी प्रियङ्का परियार र ओसीम अन्सारी पक्राउ परेका छन् ।
पशुपति क्षेत्र विकास कोषले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई इटहरीबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ।
केही दिनअघि परियार र अन्सारी पशुपतिनाथ मन्दिर पुगेका थिए। उनीहरूले मन्दिर परिसरमा भिडियोसमेत बनाएका थिए। सामाजिक सञ्जालमा उक्त भिडियो सार्वजनिक भएपछि उनीहरूको विषयमा चर्चा भएको थियो।
भिडियोमा अन्सारीले मुस्लिम समुदायले प्रयोग गर्ने टोपी लगाएको देखिएपछि यो विषय प्रतिनिधिसभाको बैठकसम्म पुगेको थियो। सांसद खुस्बु ओलीले संसदमा समेत यसबारे प्रश्न उठाएकी थिइन्।
परियार र अन्सारी प्रेम विवाह गरेका दम्पती हुन्। परियारले आफूले श्रीमानलाई आफ्नो धार्मिक आस्थाको केन्द्र पशुपतिनाथ दर्शन गराउन लगेको बताएकी छन्। श्रीमानलाई सँगै मन्दिर लैजानुलाई अन्य उद्देश्यबाट नबुझ्न उनले आग्रह गरेकी छन्।
अन्सारी इटहरी–८ का स्थायी बासिन्दा हुन्।




प्रतिक्रिया