अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पुष्पा भुसाल महिला कोटातर्फ केन्द्रीय उपसभापतिमा पुनः निर्विरोध निर्वाचित भएकी छन्। उपसभापति पदमा महिला कोटाबाट उनको बाहेक कसैको उम्मेदवारी नपरेपछि भुसाल निर्विरोध भएकी हुन्।
अर्घाखाँचीको पोखराथोकमा २०१७ साल फागुन १ गते जन्मिएकी भुसाल कांग्रेसको विशेष महाधिवेशनबाट पहिलोपटक केन्द्रीय उपसभापति बनेकी थिइन्। १५औँ महाधिवेशनबाट पनि उनले सोही पदलाई निरन्तरता दिएकी हुन्।
भुसाल २०१५ सालको बीपी कोइराला नेतृत्वको मन्त्रिपरिषद्मा स्वास्थ्य मन्त्री रहेका काशीनाथ गौतमकी छोरी हुन्। २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि उनका बुबा सपरिवार भारत निर्वासनमा जाँदा भुसाल पनि लामो समय भारतमै बसेकी थिइन्।
उनले २०३६ सालमा नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा सुरु गरेकी थिइन्। कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी उनी कांग्रेसको महिला विभाग, कानुन विभागमा लामो समय क्रियाशील भइन । नेपाल महिला संघको महासचिव भएर पनि काम गरिन् । महिला अधिकार र समानताको पक्षमा वकालत गर्दै गर्दा उनले विश्वविद्यालयमा प्राध्यापन पनि गरिन् । त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्रध्यापन गरेकी भुसाल वरिष्ठ अधिवक्ता समेत हुन् ।

विशेष महाधिवेशनअघि भएका कांग्रेसका १२औँ, १३औँ र १४औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्।
२०६४ सालको संविधानसभा निर्वाचनमा अर्घाखाँची–२ बाट निर्वाचित भुसाल संविधान मस्यौदा समितिमा रहेर काम गरेकी थिइन्। यसअघि २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिमा पनि कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।
२०५६ सालको संसदीय निर्वाचनमा अर्घाखाँची–२ बाट कांग्रेस उम्मेदवार बने पनि पराजित भएकी भुसाल २०६४ सालमा भने सोही क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित भएकी थिइन्। २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बनेकी उनले त्यस कार्यकालमा कांग्रेस संसदीय दलको सचेतकका रूपमा चार वर्ष काम गरिन्।
पछि उनी प्रतिनिधिसभाको उपसभामुखसमेत बनिन्। २०७९ सालमा भएको उपसभामुख निर्वाचनमा एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गर्दै भुसाल निर्वाचित भएकी थिइन्।




प्रतिक्रिया