देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को सुझाव


काठमाडौँ । शुक्रबारसम्म वर्षा जारी रहने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबारदेखि भने मौसम क्रमशः खुल्दै जानेछ।

विभागका अनुसार पछिल्लो समय देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। मौसमविद् रोजन लामिछानेका अनुसार चितवन, काठमाडौँ, नवलपुर, तनहुँ र गोरखालगायत क्षेत्रमा पानी परिरहेको छ।

सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका सुर्खेत, बर्दिया, बैतडी, डोटी, डडेल्धुरा र कैलाली आसपासमा मध्यम वर्षा भएको छ। चितवनको गोविन्दबस्ती र धनगढी विमानस्थल क्षेत्रमा भने तुलनात्मक रूपमा बढी वर्षा मापन गरिएको विभागले जनाएको छ।

पछिल्लो २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ। गण्डकी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षासमेत भएको विभागको भनाइ छ।

बुधबार देशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना बढी रहेको छ। कोशी र मधेससहित तराईका केही क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा कोशीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ।

बिहीबार वर्षाको मात्रा केही घट्ने अनुमान गरिएको छ। यद्यपि पूर्वी पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ। शुक्रबार पूर्वी क्षेत्र र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहे पनि अन्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने विभागको पूर्वानुमान छ।

वर्षाको सम्भावनालाई ध्यानमा राख्दै विभागले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहेँलो चेतावनी जारी गरेको छ। कोशी र मधेसमा भने मौसमको सामान्य प्रभाव रहने अनुमान गरिएको छ।

अहिले धान भित्र्याउने समय भएकाले किसानलाई मौसमको अवस्था बुझेर मात्रै कृषि कार्य गर्न विभागले आग्रह गरेको छ। मौसमविद् लामिछानेले आगामी तीन दिन वर्षाको सम्भावना रहेकाले विशेष सावधानी अपनाउन सुझाव दिएका छन्।

उनका अनुसार शनिबारदेखि भने देशको मौसममा क्रमिक सुधार आउनेछ।