भारतको सहयोगमा मोरङमा विद्यालय भवन निर्माण गरियाे


काठमाडौँ । भारत सरकारको सहयोगमा मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित पञ्चायत माध्यमिक विद्यालयको नयाँ भवन निर्माण गरिएको छ।

नवनिर्मित भवनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह र सुन्दरहरैँचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईंले संयुक्त रूपमा उद्घाटन गरेका छन्।

भारतीय दूतावासका अनुसार विद्यालय भवन उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण गरिएको हो। नयाँ भवनले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न तथा विद्यार्थी र शिक्षकलाई सहज सिकाइ वातावरण उपलब्ध गराउन सहयोग पुग्ने मुख्यमन्त्री कार्कीले बताए।

भारत सरकारले उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत नेपालका सातै प्रदेश र ७४ जिल्लामा हालसम्म ६०५ वटा परियोजना सञ्चालन गरिसकेको दूतावासले जनाएको छ। कोशी प्रदेशमा मात्रै १०३ वटा परियोजना सञ्चालनमा छन् भने मोरङमा १७ वटा परियोजना कार्यान्वयनमा रहेका छन्।

दूतावासका अनुसार भारतले कोशी प्रदेशलाई १५० वटा एम्बुलेन्स र ६२ वटा स्कुल बस उपलब्ध गराएको छ। त्यसमध्ये मोरङ जिल्लाले मात्रै २१ वटा एम्बुलेन्स र १७ वटा स्कुल बस प्राप्त गरेको छ।

उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत शिक्षा, स्वास्थ्यलगायत प्राथमिकताका क्षेत्रमा पूर्वाधार निर्माण गरी स्थानीय विकास र समृद्धिमा योगदान पुर्‍याउने भारत सरकारको उद्देश्य रहेको दूतावासले जनाएको छ।