नवलपुर (नवलपरासी), २१ असोज । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा गर्भपतन सेवा लिनेको सङ्ख्या घट्दै गएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले उपलब्ध गराएको पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार यस्तो सेवालिनेको सङ्ख्या घट्दै गएको हो ।
आर्थिक वर्ष २०८०र८१ मा एक हजार ७४७ जनाले सो सेवा लिनेमा आव २०८२र८३ मा यो सङ्ख्या घटेर एक हजार ४२३ मा पुगेको कार्यालय प्रमुख एवं जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईँले जानकारी दिए । उनका अनुसार यो सङ्ख्या आव २०८१र८२ मा एक हजार ७०७ थियो ।
जिल्लामा गर्भपतन सेवा लिनेको सङ्ख्या घटेसँगै शल्यक्रिया र औषधिको प्रयोगबाट गर्भपतन गराउनेको सङ्ख्यामा पनि कमी आएको छ । आव २०८०÷८१ मा शल्यक्रियाबाट १२० जनाले गर्भपतन गराउँदा एक हजार ६२७ जनाले औषधिको प्रयोगबाट गर्भपतन गराएका थिए ।
त्यस्तै, आव २०८१र८२ मा १३० जनाले शल्यक्रियाबाट गर्भपतन गराउँदा एक हजार ५७७ जनाले औषधिको प्रयोगबाट तथा आव २०८२र८३ मा ६९ जनाले शल्यक्रियाबाट गर्भपतन गराउँदा एक हजार ३५४ जनाले औषधिको प्रयोगबाट गर्भपतन गराएका उनले जानकारी दिए ।
गर्भपतन सेवा लिनेमध्ये सबैभन्दा बढी गैँडाकोट नगरपालिकामा ४५८, कावासोती नगरपालिकामा ४०५, देवचुली नगरपालिकामा १८७, हुप्सेकोट गाउँपालिकामा १४१, विनयी त्रिवेणी गाउँपालिकामा १००, मध्यविन्दु नगरपालिकामा ९७, बौदिकाली गाउँपालिकामा २५ तथा बुलिङटार गाउँपालिकामा १० जना रहेका जनस्वास्थ्य प्रशासक चापागाईँले बताए ।
जिल्लाका आठवटा स्थानीय तहमा २० वटा सूचीकृत स्वास्थ्य संस्था तथा सूचीकृत स्वास्थ्यकर्मीमार्फत सुरक्षित गर्भपतन सेवा सञ्चालन हुँदै आएको चापागाईँले जानकारी दिए । यसमध्ये गैँडाकोटमा छ, देवचुलीमा र विनयी त्रिवेणीमा तीन–तीन, मध्यविन्दु, बुलिङटार र हुप्सेकोटमा दुई–दुई तथा कावासोती र बौदिकालीमा एक–एकवटा सूचीकृत स्वास्थ्य संस्था तथा सूचीकृत स्वास्थ्यकर्मीमार्फत सुरक्षित गर्भपतन सेवा उपलब्ध हुँदै आएको चापागाईँले बताए ।
जिल्लामा अझै पनि सामाजिक तथा सांस्कृति मान्यताका कारण सुरक्षित गर्भपतन सेवा लिन हिचकिचाउनेको सङ्ख्या धेरै रहेको जनस्वास्थ्य प्रशासक चापागाईँको भनाइ छ । त्यस्तै, समुदायमा सुरक्षित गर्भपतन सेवासम्बन्धी पर्याप्त जानकारीको अभाव, दुर्गम भौगोलिक अवस्था तथा यातायात पहुँचको समस्या, असुरक्षित तथा अनधिकृत गर्भपतन सेवाको सम्भावना सुरक्षित गर्भपतन सेवाका चुनौती भएका उनले बताए ।




प्रतिक्रिया