काठमाडौँ । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा महामन्त्री पदमा आफ्नो उम्मेदवारी दिएका युवा नेता शंकर तिवारीले पार्टीमा वैचारिक स्पष्टता र साङ्गठनिक सुदृढीकरणको नारा अघि सारेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नवलपुर क्षेत्र नम्बर-२ बाट महाधिवेशन प्रतिनिधि चुनिएका तिवारीले कांग्रेसलाई आधुनिक र समयसापेक्ष लोकतान्त्रिक शक्तिमा ढाल्न आफ्नो महामन्त्रीमा उम्मेदवारी रहेको स्पष्ट पारे।
‘हामीले विशेष महाधिवेशनदेखि नै आधुनिक लोकतान्त्रिक पार्टी कस्तो हुनुपर्छ भनेर रूपान्तरणको बहस उठायौँ,’ तिवारीले भने, ‘अब १५औँ महाधिवेशनमार्फत सभापतिको हात बलियो बनाउनु छ। सभापतिलाई प्रभावकारी नीति तय गर्न सघाउने र ती नीतिलाई जनजनमा पुर्याउने काममा जोड दिनेछु।’
पार्टीभित्र आन्तरिक लोकतन्त्र, नीतिगत बहस र जीवन्त राजनीतिक संस्कृति निर्माणमा जोड दिँदै उनले नेतृत्वलाई सही बाटोमा हिँडाउन प्रश्न गर्ने अभ्यास अपरिहार्य हुने तर्क गरे।
‘प्रश्न गर्नु लोकतन्त्रको आत्मा हो, त्यसैले विधि र नीतिका विषयमा पार्टीभित्र म निरन्तर प्रश्न उठाइरहनेछु,’ तिवारीले थपे, ‘चुनावपछि बन्ने नयाँ केन्द्रीय समितिले गर्ने निर्णयहरूलाई जनताको घरदैलोसम्म पुर्याउने जिम्मा म लिन्छु।’
यसअघि १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनिसकेका तिवारी यसपटक थप परिपक्व वैचारिक धरातल र साङ्गठनिक एजेन्डासहित महामन्त्रीको होडमा उभिएका हुन्। कांग्रेसलाई सत्ता र चुनावी जोडघटाउमा सीमित नराखी नीतिमूलक र जनउत्तरदायी बनाउन नेतृत्वदायी भूमिका खेल्ने उनको अठोट छ।




प्रतिक्रिया