‘गगन थापालाई सशक्त बनाउन महामन्त्रीमा उम्मेदवारी दिएको हुँ’– अमरसिंह पुन


काठमाडौँ । नेपाली कांग्रेसका नेता अमरसिंह पुनले पार्टीको जारी १५औँ महाधिवेशनमा भावी सभापतिका दाबेदार गगन थापालाई सशक्त बनाउन र पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नका लागि आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पुनले कांग्रेसलाई आन्तरिक गुटबन्दीभन्दा माथि उठाएर समग्र नेपालीको भरोसाको बलियो केन्द्र बनाउने दूरदृष्टिसहित महामन्त्रीमा प्रतिस्पर्धा गर्न लागेको स्पष्ट पारे।

पार्टीको विद्यमान निर्वाचन प्रणालीको आलोचना गर्दै पुनले वडा तहदेखि केन्द्रसम्म सात तहमा चुनाव लड्नुपर्ने व्यवस्थाले कार्यकर्ताबीच गुटबन्दी सिर्जना गरेको दाबी गरे। ‘विधानले नै हामी कार्यकर्ताहरूलाई आपसमा मिल्न दिँदैन,’ उनले भने, ‘त्यसैले आगामी दिनमा सबै क्रियाशील कार्यकर्ताबाट केन्द्रीय नेतृत्वका लागि मत हाल्ने व्यवस्था मिलाउनुपर्छ।’

रोल्पाको दुर्गम भूगोलबाट राजनीतिक यात्रा सुरु गरेका पुनले तल्लो तहका कार्यकर्ताको भावना र सांगठनिक संघर्षलाई आफूले नजिकबाट भोगेको बताए। ‘दुर्गम क्षेत्रमा संगठन निर्माण गर्दाका दुःख र अप्ठ्याराहरू मैले आफैँ व्यतीत गरेको छु,’ उनले थपे, ‘त्यही भोगाइ र अनुभवलाई ऊर्जामा बदलेर कांग्रेसलाई अझ मजबुत, जीवन्त र कार्यकर्तामैत्री बनाउने मेरो अठोट हो।’

उनले आफू कुनै पनि प्यानलको सहारा नलिई विचार र निष्ठाका आधारमा महाधिवेशनमा प्रस्तुत भएको दाबी गर्दै गगन थापालाई भावी सभापति बनाउनुपर्नेमा समेत जोड दिए। ‘गगन थापालाई सशक्त बनाउन नै मेरो उम्मेदवारी हो, उहाँलाई सभापतिमा सघाउन तयार छु,’ उनले भने।

साक्षात्कारका क्रममा नेता पुनले इतिहास र वर्तमानलाई जोड्दै हिमाल, पहाड र तराईका साथै नेपालका सबै जातजाति, भाषा, धर्म, संस्कृति र रीतिरिवाजलाई समेटेर राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने जिम्मा कांग्रेसको भएको उल्लेख गरे। उनले पार्टीले अन्य राजनीतिक दलहरूसँग पनि परिपक्व अन्तरपार्टी भूमिका निर्वाह गरेर जानुपर्ने बताए।

यस्तै, नेता पुनले प्राकृतिक विपत्तिबाट प्रभावित भोटेकोशी बाढीपीडितको पुनःस्थापना र सो क्षेत्रको पूर्वाधार निर्माणमा पनि कांग्रेसले अग्रणी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।