काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले गगन थापा गुटको होइन, सिंगो कांग्रेसको सभापति बन्नुपर्नेमा जोड दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले कांग्रेसमा गुटको राजनीति अन्त्य भई पार्टी एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै थापा सिंगो कांग्रेसको सभापति बन्नुपर्नेमा जोड दिएका हुन् ।
नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार नेताहरू अमरसिंह पुन र शंकर गिरीलगायतको सहभागिता रहेको उक्त कार्यक्रममा अध्यक्ष धमलाले बीपी कोइरालाको नेतृत्वपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा हुँदै अहिले गगन थापा नेतृत्वमा आएको प्रसंग उल्लेख गरे ।
“कांग्रेसमा युवा नेतृत्वमा आउनुपर्छ भनेर मैले पटक-पटक भन्दै आएको थिएँ, जेनजी आन्दोलनको माग पनि त्यही नै हो,” धमलाले भने, “गगन थापाहरूले विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गरे र अब १५ औँ महाधिवेशनबाट पनि गगन थापा नै कांग्रेसको पार्टी सभापति बन्नुपर्छ तर त्यसपछि सबैलाई समेटेर पार्टीभित्रको गुटलाई थापाले अन्त्य गर्नुपर्छ ।”
अध्यक्ष धमलाले देउवा पक्षलगायत सबैलाई समेटेर अघि बढ्न गगन थापालाई सुझाव दिएका हुन् ।
धमलाले देशभरका क्रियाशील कार्यकर्ताबाटै कांग्रेसको सभापति प्रत्यक्ष निर्वाचित हुने व्यवस्था मिलाउनुपर्नेमा पनि जोड दिए । त्यसका लागि पार्टी विधान संशोधन गर्न वर्तमान नेतृत्वले हिम्मत गर्नुपर्ने बताउँदै उनले थपे, “नेता भनेको गुटमुखी होइन, जनताप्रति उत्तरदायी र जनमुखी हुनुपर्छ ।”
महाधिवेशनको माहोलमा उम्मेदवारहरू भोट माग्नमै व्यस्त देखिए पनि मुख्य विषयहरू भने ओझेलमा परेको भन्दै उनले चिन्ता व्यक्त गरे । “अहिले कांग्रेसभित्र गरिब, निमुखा, दुःखी जनताका मुद्दा, कृषि क्षेत्रको सुधार र विदेश नीतिका विषयमा हुनुपर्ने जति बहस हुन सकेको छैन,” उनले भने ।
धमलाले भ्रष्टाचार अन्त्य, विधिको शासन, सुशासन कायम गर्ने र रोजगारी सिर्जना गर्ने विषयमा कांग्रेसले स्पष्ट र ठोस एजेन्डा अघि सार्नुपर्ने औँल्याए ।




प्रतिक्रिया