शरद रेग्मी,दाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले दाङको टरीगाउँ विमानस्थल दुई वर्षभित्र स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुधबार तुलसीपुरस्थित विमानस्थलको स्थलगत अवलोकन गर्दै मन्त्री पौडेलले लामो समयदेखि चर्चामा रहे पनि कार्यान्वयन हुन नसकेको विमानस्थल स्तरोन्नतिको काम अब अघि बढाउने बताए ।
वि.सं. २०११ सालमा स्थापना भएको टरीगाउँ विमानस्थल दाङको मात्रै नभई नेपालकै पुराना विमानस्थलमध्ये एक हो। विमानस्थलको नियमित सञ्चालन र स्तरोन्नतिको माग लामो समयदेखि उठ्दै आए पनि निर्वाचनका बेला मात्रै राजनीतिक एजेन्डा बन्ने गरेको भन्दै यसपटक काम अघि बढाउन सरकार गम्भीर रहेको जनाइएको छ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री बिपिनकुमार आचार्यले विमानस्थल सञ्चालनमा आए दाङसहित राप्ती क्षेत्रका लाखौँ नागरिक लाभान्वित हुने बताए । उनका अनुसार नियमित हवाई सेवा सञ्चालन हुँदा पर्यटनसँगै व्यापार तथा आर्थिक गतिविधि समेत विस्तार हुनेछ।
उनले विगतमा कसले के गर्यो भन्ने बहसभन्दा पनि अब छिटो काम अघि बढाउनुपर्नेमा जोड दिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक मुकेश डङ्गोलले स्थलगत अध्ययनका क्रममा विमानस्थलको रनवे र टर्मिनल भवन विस्तार गर्न सकिने सम्भावना देखिएको बताए ।
त्यसैका आधारमा मन्त्रालय र प्राधिकरणको टोलीले विमानस्थलको निरीक्षण गरेको उनकाे भनाइ छ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले विमानस्थलको स्तरोन्नति र नियमित सञ्चालन राप्ती क्षेत्रको आर्थिक विकासका लागि अपरिहार्य रहेको बताए ।
उहाँले एटीआर–७२ जहाज सञ्चालन गर्न सकिने गरी पूर्वाधार विकास भए निजी क्षेत्रले सुरुआती चरणमा राज्यलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।
निजी क्षेत्रले एटीआर–७२ सञ्चालन सुरु भएपछि प्रारम्भिक छ महिनाको सञ्चालन खर्चसमेत बेहोर्न तयार रहेको जनाएको छ।
सो अबसरमा प्युठान जिल्ला बाट निर्वाचित सासंद सुशान्त बैदिकले रास्वपा भेगिय सिन्डिगेटलाई तोडेर अघि बढने भन्दै तुलसीपुरको टरिगाउ ऐयरपोर्ट स्तरबृद्दि हुनु पर्नेमा जोड दिए ।





प्रतिक्रिया