कांग्रेसको १५औँ महाधिवेशन: आदिवासी जनजाति महिलातर्फ डा. गंगालक्ष्मी अवाल नै किन ?


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजाति महिला तर्फबाट केन्द्रीय सदस्य पदमा सांसद डा. गंगालक्ष्मी अवालले उम्मेदवारी दिएकी छन्। पार्टीभित्र समावेशी प्रतिनिधित्व, महिला नेतृत्व र आदिवासी जनजातिको अधिकारका सवाललाई प्राथमिकतामा राख्दै उनले आफ्नो उम्मेदवारी दिएकी हुन्।

अवालले आफ्नो उम्मेदवारीमार्फत पार्टीको परम्परागत मूल्य र परिवर्तनको आवश्यकतालाई सँगसँगै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले समावेशी, सुशासनयुक्त र उत्तरदायी पार्टी निर्माणका लागि सक्रिय भूमिका निर्वाह गर्ने बताएकी छन्।

उनको मुख्य एजेन्डामा आदिवासी जनजाति समुदायको अधिकार र सहभागिता सुनिश्चित गर्ने, महिलाको नेतृत्व विकास तथा निर्णय तहमा अर्थपूर्ण सहभागिता बढाउने, युवा तथा नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्ने र शिक्षा, स्वास्थ्य, सीप तथा रोजगारीका अवसर विस्तार गर्ने विषयलाई अघि सारेकी छन्।

त्यस्तै भाषा, संस्कृति, सम्पदा र पहिचानको संरक्षण तथा प्रवर्द्धन, दिगो विकास, वातावरण संरक्षण र जलवायु न्यायका मुद्दालाई पनि उनले प्राथमिकतामा राखेकी छन्। ग्रामीण तथा पिछडिएका क्षेत्रमा पूर्वाधार, कृषि र स्थानीय अर्थतन्त्र सुदृढ बनाउने तथा समुदायबीच एकता, सद्भाव र सामाजिक न्याय कायम गर्ने उनको प्रतिबद्धता छ।

‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालको लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारासहित अघि बढेकी अवालले कांग्रेसलाई अझ समावेशी र जनमुखी बनाउने अभियानमा आफूलाई प्रस्तुत गरेकी छन्।

सांसदका रूपमा संसद्मा रहँदै आएकी अवालले अब पार्टीको केन्द्रीय तहमा पनि आफ्नो भूमिका प्रभावकारी बनाउने लक्ष्यसहित प्रतिनिधिहरूसमक्ष आफूलाई प्रस्तुत गरेकी छन्। उनले संसद्मा समसामयिक विषयदेखि लिएर विभिन्न सामाजिक मुद्दाहरूलाई उठाउँदै आइरहेकी छन् ।