काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी बिनिता खड्का अहिले पार्टीभित्रको पुस्तान्तरण, वैचारिक रूपान्तरण र नयाँ राजनीतिक कार्यशैलीको बहससँगै चर्चामा छिन्। ३२ वर्षीया खड्का दोस्रोपटक केन्द्रीय कार्यसमितिमा पुग्ने तयारीमा छिन्।
उनी १३औँ महाधिवेशनमा देशभरकै कान्छी महाधिवेशन प्रतिनिधि, १४औँ महाधिवेशनमा रुचाइएकी महाधिवेशन प्रतिनिधि सहित केन्द्रीय सदस्यको उम्मेदवार, विशेष महाधिवेशनमा जेनजी उमेर समूहकी केन्द्रीय सदस्य बनेकी थिइन् ।
सानै उमेरदेखि नै राजनीतिमा सक्रिय रहँदै आएकी उनी पछिल्लो समय सामाजिक काममा समेत सक्रिय छिन्। लामो समयको राजनीतिक संलग्नता र सामाजिक क्षेत्रको अनुभवलाई आधार बनाउँदै उनले यसपटक आफ्नो उम्मेदवारीलाई केवल पदको प्रतिस्पर्धाभन्दा पनि पार्टीभित्र परिवर्तनको अभियानका रूपमा प्रस्तुत गरेकी छन्।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा खड्काले कांग्रेसलाई समयअनुकूल बनाउन नयाँ सोच र कार्यशैली आवश्यक रहेको बताइन्। उनका अनुसार पुस्तान्तरण भनेको नेतृत्वमा नयाँ अनुहार ल्याउने विषय मात्रै होइन, राजनीति गर्ने शैलीमै परिवर्तन ल्याउने विषय हो।
उनले पार्टीभित्र गुटभन्दा माथि उठेर संस्थागत कांग्रेस निर्माण गर्नुपर्ने, भाषणभन्दा समाधानमा केन्द्रित राजनीति गर्नुपर्ने र युवालाई चुनावी प्रयोजनका लागि मात्र प्रयोग नगरी नीति निर्माण तथा निर्णय प्रक्रियामै निर्णायक भूमिका दिनुपर्ने धारणा राखेकी छन्।
त्यस्तै पार्टीभित्रै सुशासन कायम गर्ने, निर्णय प्रक्रियालाई पारदर्शी र नेतृत्वलाई जवाफदेही बनाउने तथा आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने विषयलाई पनि उनले प्राथमिकतामा राखेकी छन्। देशबाट भइरहेको प्रतिभा पलायन रोक्न स्वदेशमै अवसर सिर्जना र प्रविधिलाई उत्पादनसँग जोड्ने नीति आवश्यक रहेको उनको भनाइ छ।
गुटभन्दा माथि कांग्रेस, भाषणभन्दा परिणाममुखी राजनीति
खड्काले अघि सारेको ६ बुँदे अवधारणाको केन्द्रमा कांग्रेसलाई बलियो र संस्थागत पार्टी बनाउने लक्ष्य देखिन्छ। पार्टीभित्रको गुटबन्दीले संगठनलाई कमजोर बनाइरहेको भन्दै उनले व्यक्तिको प्रभावभन्दा पार्टीको संस्थागत हितलाई प्राथमिकता दिनुपर्ने बताएकी छन्।
उनको जोड राजनीतिलाई भाषण र आश्वासनमा सीमित नराखी जनताका वास्तविक समस्याको समाधानतर्फ लैजानुपर्नेमा छ। शिक्षा, रोजगारी, अर्थतन्त्र, प्रविधि र सामाजिक परिवर्तनजस्ता चुनौती सामना गर्न कांग्रेसले नयाँ विचार र व्यावहारिक नीति अघि सार्नुपर्ने उनको तर्क छ।
युवालाई नेतृत्वमा ल्याउने विषयमा पनि खड्का स्पष्ट देखिन्छिन्। उनका अनुसार युवालाई चुनावका बेला परिचालन गर्ने तर निर्णय गर्ने ठाउँमा सीमित गर्ने परम्परा परिवर्तन हुनुपर्छ। युवा पुस्तालाई नीति निर्माणदेखि कार्यान्वयनसम्मको निर्णायक भूमिकामा सहभागी गराउनुपर्ने उनको धारणा छ।
पार्टीभित्र सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्ने उनको अर्को एजेन्डा हो। राज्यमा सुशासनको माग गर्ने कांग्रेसले आफ्नै आन्तरिक संरचनाबाट त्यसको सुरुवात गर्नुपर्ने उनी बताउँछिन्।
सानै उमेरदेखि राजनीतिक सक्रियता, दोस्रोपटक केन्द्रीय सदस्य बन्ने लक्ष्य
किशोरावस्थामै राजनीतिमा प्रवेश गरेकी उनी अहिले ३२ वर्षको उमेरमा दोस्रोपटक कांग्रेस केन्द्रीय सदस्यका लागि मैदानमा छिन्। रामेछापबाट सर्वाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधि चुनिएकी खड्काको पक्षमा तल्लो तहका कार्यकर्ता र नयाँ पुस्ताको ठूलो समर्थन देखिएको छ।उनले आफू निर्वाचित भए पार्टीभित्र पुस्तान्तरण, युवा सहभागिता, आन्तरिक सुशासन र परिणाममुखी राजनीतिक संस्कार स्थापित गर्न भूमिका खेल्ने बताएकी छन्।





प्रतिक्रिया