जनजाति युवाको प्रतिनिधित्व गर्दै काँग्रेसको केन्द्रीय सदस्यमा अमृत गुरुङको उम्मेदवारी



काठमाडौं । नेपाली कांग्रेस चितवनका प्रभावशाली युवा नेता तथा नेपाल तरुण दल चितवनका उपाध्यक्ष अमृत गुरुङले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा जनजाति तर्फबाट उम्मेदवारी दिएका छन् ।

चितवन क्षेत्र नं. ३ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधिमा राम्रो मतसहित निर्वाचित भएपछि गुरुङले युवा पुस्ता र आदिवासी जनजाति समुदायको प्रतिनिधित्वलाई केन्द्रमा राख्दै केन्द्रीय सदस्य पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।

गुरुङले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत राजनीतिक आकांक्षाभन्दा पनि युवा पुस्ता र जनजाति समुदायको आवाज पार्टीको केन्द्रीय तहमा पुर्‍याउने अवसरका रूपमा प्रस्तुत गरेका छन् । संगठन सुदृढीकरण, युवा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र समावेशी प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै कांग्रेसलाई समयअनुकूल गतिशील बनाउन आफूले भूमिका खेल्ने उनको प्रतिबद्धता छ ।


लामो समयदेखि नेपाली कांग्रेसको संगठन तथा सामाजिक गतिविधिमा सक्रिय गुरुङले पार्टीभित्र युवाको अर्थपूर्ण सहभागिता र नेतृत्वमा नयाँ पुस्ताको उपस्थितिलाई आफ्नो उम्मेदवारीको प्रमुख आधार बनाएका छन् । यसपटक चितवनबाट महाधिवेशन प्रतिनिधिका रूपमा उल्लेख्य संख्यामा युवा निर्वाचित भएकाले पनि गुरुङको उम्मेदवारीप्रति युवा पंक्तिमा चासो बढेको उनीनिकट नेताहरूको भनाइ छ ।


नेपाल तरुण दल चितवनको उपाध्यक्षका रूपमा सक्रिय गुरुङ युवामाझ संगठन निर्माण, परिचालन र सामाजिक अभियानमा जोडिँदै आएका छन् । पार्टी राजनीतिसँगै सफल व्यवसायी तथा समाजसेवीका रूपमा समेत परिचित उनले राजनीतिक गतिविधिलाई सामाजिक उत्तरदायित्वसँग जोडेर अघि बढाउँदै आएका छन् । साथै नेता गुरुङले १५ औं महाधिवेशनका केन्द्रीय प्रतिनिधिसँग साथ, सहयोग र मतको लागि आग्रह समेत गरेका छन् ।