कांग्रेसको नयाँ कार्यसमिति चयन गर्न आज तीन स्थानमा मतदान


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ। निर्वाचन समितिका अनुसार मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंका विभिन्न तीन स्थानमा हुनेछ।

महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि मतदान गर्नेछन्। निर्वाचन समितिले बुधबार साँझ सबै पदका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ।

यसअघि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका थियो। तर काठमाडौंमा भएको भारी वर्षा तथा केही प्राविधिक समस्याका कारण मतदानको समय तीन घण्टा पछाडि सारिएको निर्वाचन समितिले जनाएको छ।

राष्ट्रिय सभा गृह र खुलामञ्चमा मतदान केन्द्र

प्रतिनिधिको सहजताका लागि राष्ट्रिय सभा गृह र खुलामञ्चमा विभिन्न मतदान केन्द्र तथा हल तोकिएका छन्। बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहस्थित मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन्।

अन्य प्रदेश तथा विभिन्न समूहका प्रतिनिधिका लागि खुलामञ्चमा छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरिएको छ। निर्वाचन समितिका अनुसार मतदान केन्द्र यसप्रकार छन् :

  • राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ — बागमती प्रदेश
  • खुलामञ्च, मतदान केन्द्र ‘ख’ — कोशी प्रदेश तथा तराई–मधेस समूह
  • हिमाल हल — गण्डकी प्रदेश
  • तराई–मधेस हल — मधेस प्रदेश
  • पहाड हल — लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधि

प्रतिनिधिले मतदानस्थल प्रवेश गरेपछि आफ्नो परिचयपत्र र मतदाता नामावली रुजु गराउनुपर्नेछ। त्यसपछि आफूलाई तोकिएको प्रदेश वा समूहको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ।

निर्वाचन आचारसंहिताअनुसार मतदानस्थलभित्र मोबाइल फोनलगायत निषेध गरिएका सामग्री लैजान पाइने छैन।

सभापतिदेखि केन्द्रीय सदस्यसम्म चयन हुँदै

१५औँ महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया यसअघि नै पूरा भइसकेको छ। अब प्रतिनिधिको मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य चयन हुनेछन्।

यसपटकको महाधिवेशनले विधान संशोधन गर्दै कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ। नयाँ नेतृत्व चयनका लागि हुने मतदानसँगै महाधिवेशनको सबैभन्दा महत्वपूर्ण निर्वाचन प्रक्रिया अघि बढेको हो।

मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ। मतगणनापछि क्रमशः विभिन्न पदको निर्वाचन परिणाम सार्वजनिक गरिनेछ।