कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा जोड


कर्णाली, २२ असोज । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कृषि मौसम सल्लाहसम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड)ले वीरेन्द्रनगरमा आयोजना गरेको दुईदिने गोष्ठी बुधबार सम्पन्न भएको हो ।

गोष्ठीमा कर्णालीको कृषि क्षेत्र र किसानलाई केन्द्रमा राखेर कृषि मौसम सल्लाह, मौसम तथा जलवायु परिवर्तनको प्रभाव र विपद्सम्बन्धी विषयमा प्रस्तुति तथा छलफल गरिएको थियो ।

मौसम तथा जलवायु विज्ञान कार्यालय सुर्खेतका प्रमुख डा इन्दिरा कँडेलले जलवायु परिवर्तनले कर्णालीको खाद्य प्रणाली र जीविकोपार्जनमा पारेको प्रभाव, मौसम पूर्वानुमान र यसको उपयोगका विषयमा प्रस्तुति दिएको थियो । उनले कृषि तथा मौसमसम्बन्धी पूर्वसूचना प्रणालीलाई स्थानीयस्तरमा पु¥याउनुपर्नेमा जोड दिए ।

नेपाल कृषि अनुसन्धान केन्द्र चितवनका वरिष्ठ वैज्ञानिक रमेश आचार्यले कृषि मौसम सल्लाहको इतिहास, यसको प्रयोग र राष्ट्रिय महत्वका विषयमा जानकारी दिए । उनले कृषि क्षेत्रमा देखिएका जोखिम, स्थानीय तहमा भइरहेका अभ्यास र सिकाइबारे जानकारी दिए ।

ली–बर्ड परियोजनाका टोली प्रमुख केशव पौडेलले कर्णालीको पहिरो, पूर्वसूचना प्रणाली तथा सुर्खेतको गुर्भाकोट नगरपालिकामा सञ्चालित परियोजनाका बारेमा जानकारी दिएको थियो । उनले पहिरोको जोखिम न्यूनीकरणका लागि स्थानीयस्तरमा गर्नुपर्ने काम र कृषि मौसम सल्लाह सेवाबारे प्रस्तुति दिए ।

गुर्भाकोट नगरपालिकाका कृषि विकास अधिकृत दीपक पौडेल र बाँकेको बैजनाथ गाउँपालिकाका पशु प्राविधिक सुशील थारूले स्थानीय तहले कृषि क्षेत्रमा सञ्चालन गरेका कार्यक्रम, किसानलाई उपलब्ध गराउँदै आएका सेवा तथा कृषि मौसम सल्लाहका विषयमा जानकारी दिए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत तिलकप्रसाद पाण्डेले यसता गोष्ठीले प्रदेश सरकार र किसानका लागि महत्वपूर्ण विषय उठाएको बताए । उनले कृषि मौसम सल्लाहसम्बन्धी सरोकारवालासँग छलफल गरी आगामी दिनमा प्रभावकारी रूपमा अघि बढ्ने बताए ।

ली–बर्ड कर्णाली प्रदेश संयोजक कृष्ण लम्सालले कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि निर्माण गरी किसानसम्म कृषि तथा पशुपक्षी, मौसम, बाली तथा पशु रोग, कीरा व्यवस्थापन, जलवायुसम्बन्धी जोखिम र विपद्सम्बन्धी सूचना पु¥याउने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताए ।

गोष्ठीमा कृषि, मौसम, जलवायु परिवर्तन, मौसमजन्य विपद्, पूर्वसूचना प्रणालीका चुनौती तथा अवसरबारे छलफल गरिएको थियो । कार्यक्रममा कृषि तथा पशु क्षेत्रका सरकारी निकाय, नेपाल कृषि अनुसन्धान केन्द्र, विश्वविद्यालय, मौसम तथा जलवायु विज्ञान कार्यालय, स्थानीय तहका कृषि शाखा, गैरसरकारी संस्था तथा सञ्चारकर्मीको सहभागिता थियो ।