दार्चुलाको मार्मामा एनसेलको नयाँ टावर: लट्टिनाथ क्षेत्रमा फोरजी सेवा विस्तार, पर्यटन र स्थानीयलाई राहत


काठमाडौँ । सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला दार्चुलास्थित मार्मा गाउँपालिकामा निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले नयाँ मोबाइल टावर स्थापना गरी फोरजी सेवा सञ्चालनमा ल्याएको छ। गाउँपालिकाको लट्टिनाथ क्षेत्रलाई लक्षित गरी टावर सञ्चालनमा ल्याइएपछि त्यस क्षेत्रका स्थानीय बासिन्दा आधुनिक दूरसञ्चार सेवाको प्रत्यक्ष पहुँचमा जोडिएका छन्।

भौगोलिक दृष्टिले दुर्गम मानिने मार्मा क्षेत्रका बासिन्दाको सञ्चार आवश्यकतालाई सम्बोधन गर्न यो पूर्वाधार निर्माण गरिएको हो। नयाँ टावर सञ्चालनसँगै स्थानीय समुदायका साथै अपि हिमाल आरोहण, पदयात्रा तथा पर्यटकीय गतिविधिमा संलग्न हुने आन्तरिक तथा बाह्य पर्यटकका लागि समेत सञ्चार सम्पर्क थप भरपर्दो बनेको कम्पनीले जनाएको छ।

सेवा विस्तारबारे जानकारी दिँदै एनसेलकी नेटवर्क प्रमुख (हेड अफ नेटवर्क) लेना केशरी कंसाकारले भनिन्, “यो टावरको जडान र सञ्चालनसँगै हामीले फोरजी सेवाको पहुँच अझै बढाउँदै स्थानीय बासिन्दाका साथै पर्यटकलाई यसको प्रत्यक्ष फाइदा पुर्‍याउन सफल भएका छौँ। सुगमदेखि दुर्गम क्षेत्रसम्मका आम उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्न हामी सधैँ प्रतिबद्ध रहेको यो अर्को स्पष्ट प्रमाण हो।”

हाल एनसेलले देशभर ४ हजार ५ सयभन्दा बढी टावरमार्फत टुजी, थ्रीजी र फोरजी सेवा उपलब्ध गराउँदै आएको छ। गुणस्तरीय फोरजी सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राखेको एनसेलले मार्मामा जडान गरेको यो नयाँ टावरमार्फत टुजी र फोरजी प्रविधिमा आधारित सेवाहरू प्रदान गर्नेछ।

दुर्गम हिमाली भूगोलमा उच्च प्रविधिको सञ्चार पूर्वाधार पुगेसँगै स्थानीयको दैनिक जनजीवन सहज हुनुका साथै यस क्षेत्रको पर्यटकीय विकास र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।