‘अब राहत होइन, पुनर्निर्माणमा केन्द्रित हुनुपर्छ’ : मुख्यमन्त्री थापा


हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद् प्रभावित क्षेत्रको उद्धार र राहतपछि अब पुनर्स्थापना तथा पुनर्निर्माणका कामलाई तीव्रता दिन निर्देशन दिएका छन्।

मुख्यमन्त्री कार्यालयमा बिहीबार आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयगत विकास समस्या समाधान समितिको बैठकमा उनले विपद् प्रभावित नागरिकको पुनर्स्थापनाका लागि आवश्यक स्रोत व्यवस्थापनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

प्रदेशमा पछिल्लो समय भएका विपद्का कारण ठूलो जनधनको क्षति हुनुका साथै केही नागरिक बेपत्ता भएको उल्लेख गर्दै मुख्यमन्त्री थापाले बेपत्ता व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया संघीय सरकारको निर्णयअनुसार अघि बढाउन निर्देशन दिए।

उनले उद्धार, उपचार र खाद्यान्न वितरणजस्ता तत्कालीन राहतका काम सम्पन्न भइसकेकाले अब पुनर्निर्माणमा केन्द्रित हुनुपर्ने बताए। त्यसका लागि आन्तरिक मामिला मन्त्रालयको समन्वयमा पुनर्स्थापना र पुनर्निर्माणका काम अघि बढाउन उनले निर्देशन दिए।

बजेटको सीमिततालाई ध्यानमा राख्दै गैरप्राथमिक कार्यक्रम तथा शीर्षकको बजेट कटौती गरेर भए पनि विपद् प्रभावित क्षेत्रमा आवश्यक स्रोत परिचालन गर्न सकिने उनको भनाइ थियो।

बैठकमा मुख्यमन्त्री थापाले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने विषयलाई पनि प्राथमिकतामा राख्न निर्देशन दिए। उनले सहकारी सञ्चालक वा अन्य कुनै पक्षको दबाब र प्रभावमा नपरी कानुनअनुसार काम गर्न कर्मचारीलाई आग्रह गरे।

यसैगरी, चाडपर्वका बेला काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्ने भएकाले चोरी तथा डकैती नियन्त्रणसँगै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन पनि उनले सुरक्षा निकायलाई निर्देशन दिए।

बैठकमा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका सचिव महेश भट्टराई, प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. दीपकविक्रम थापा क्षेत्री, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दीपक रेग्मी, सञ्चार रजिस्ट्रार रेवती सापकोटा तथा सशस्त्र प्रहरीका डीएसपी प्रकाश पौडेललगायतको सहभागिता थियो।