बागलुङ, २२ असोज । पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई प्रतिपरिवार एक लाख प्रदान गरिएको छ ।
ताराखोला गाउँपालिकाले पहिरोले घर पुरिँदा ज्यान गुमाउनेलाई एक एक लाखका दरले परिवारलाई नगद राहत उपलध गराएको हो । गाउँकार्यपालिकाको निर्णयअनुसार मृतकका परिवारलाई एक÷एक लाख नगद राहत उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले बताए ।
यही असोज दोस्रो साताको पहिरोमा परि ताराखोला गाउँपालिकामा तीन जनाको मृत्यु भएको थियो । गाउँपालिका अध्यक्ष विक, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल रिजाल, वडाध्यक्षसहितको टोली पीडितको घरमा नै पुगेर राहत रकम प्रदान गरेको हो ।
गाउँपालिकाले बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणका लागि आर्थिक सहयोग गर्न अपिलसमेत गरेको छ । बाढी पहिरोबाट घरबास, सडक, विद्यालय भवन, सार्वजनिक भवन, विद्युत् संरचना तथा प्रसारण लाइनमा क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत रिजालले जानकारी दिए ।
बाढीपहिरो पीडितलाई एनआरएनएले रु पाँच लाख बढीको खाद्यन्न, लत्ता कपडालगायत अत्यावश्यक सामग्री प्रदान गरेको छ । पहिरोले घर पुरिँदा ताराखोला गाउँपालिका–५, सिपका ५५ वर्षीय दिलबहादुर पुन, उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीया नरमाया रोका र ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो ।




प्रतिक्रिया