काठमाडौँ । भारत सरकारले नेपालका लागि नयाँ राजदूतका रूपमा अनुभवी कूटनीतिज्ञ सुधाकर दलेलालाई नियुक्त गर्ने तयारी गरेको छ। वर्तमान राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल पूरा गरी फर्किएपछि दलेलाले काठमाडौँस्थित भारतीय दूतावासको नेतृत्व सम्हाल्ने भएका हुन्।
इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेका दलेला सन् १९९३ ब्याचका भारतीय परराष्ट्र सेवा (आईएफएस) का वरिष्ठ अधिकारी हुन्। उनी १ सेप्टेम्बर २०२५ देखि भारतीय विदेश मन्त्रालयमा ‘सचिव (आर्थिक सम्बन्ध)’ का रूपमा कार्यरत छन्।
दलेलासँग नेपाल र भुटान मामिलाको प्रत्यक्ष तथा गहन अनुभव छ। उनी सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतका रूपमा कार्यरत थिए। त्यसअघि भारतीय विदेश मन्त्रालयको ‘उत्तर प्रभाग’मा रहेर काम गर्ने क्रममा उनले ‘निर्देशक (उत्तर)’ (सन् २००६–०७) र ‘संयुक्त सचिव (उत्तर)’ (सन् २०१६–१९) को जिम्मेवारी सम्हाल्दै नेपाल र भुटानसँगको द्विपक्षीय सम्बन्ध प्रत्यक्षरूपमा हेरेका थिए।
यसबाहेक उनीसँग भारतीय प्रधानमन्त्री कार्यालय, वाणिज्य मन्त्रालय तथा वैदेशिक नियोगहरूमा काम गरेको लामो अनुभव छ। सन् २००९ देखि २०११ सम्म प्रधानमन्त्री कार्यालयमा निर्देशक रहँदा उनले दक्षिण एसिया, इन्डो-प्यासिफिक, खाडी तथा अफ्रिकी मुलुकहरूसँगको सम्बन्ध हेरेका थिए।
व्यापार तथा बहुपक्षीय कूटनीतिक क्षेत्रमा वाणिज्य मन्त्रालयमा ‘निर्देशक (व्यापार नीति)’ र सन् २०१४ देखि २०१६ सम्म विश्व व्यापार संगठन (डब्लुटिओ) मा भारतको उप-स्थायी प्रतिनिधिको रूपमा काम गरेको अनुभव पनि उनीसँग छ। अमेरिकास्थित कूटनीतिक नियोगमा सेवा गर्ने क्रममा उनले शिकागोमा महावाणिज्यदूत तथा वासिङ्टन डिसीमा राजनीतिक मामिला मन्त्री (सन् २०११–१४) र नियोग उपप्रमुख (सन् २०२०–२२) को भूमिका निर्वाह गरिसकेका छन्।




प्रतिक्रिया