काठमाडौँ, २२ असोज । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’का सभापति कृष्णप्रसाद पौडेललाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् ।
राष्ट्रियसभाको यही असोज १६ गते बसेको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १६७ बमोजिम एक सदस्यपछि थप गर्ने गरी नौ सदस्यीय विशेष समिति गठन गरेको थियो । समितिको सभापतिमा पौडेल निर्विरोध निर्वाचित भएको थियो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलगायतको उपस्थितिमा सिंहदरबारस्थित संसदीय समिति कक्षमा उक्त शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको हो । शपथ ग्रहणपछि सभापति पौडेलले आजै विशेष समितिको बैठकसमेत राखेका छन् ।
शपथ ग्रहणलगत्तै रासससँग कुरा गर्दै सभापति पौडेलले भोटेकोशी र कालीगण्डकी करिडोरमा भएको विपद्बाट नागरिक, बालबालिका, महिला, सुत्केरी तथा अपाङ्गता भएका व्यक्तिले भोग्नुपरेको दुःख, कष्ट र पीडालाई ध्यानमा राखेर समितिले काम गर्ने बताए । उनले भविष्यमा त्यस्ता विपद् आउँदा तिनको गति र त्यसबाट हुने क्षति न्यूनीकरण गर्न तथ्य, तथ्याङ्कमा आधारित अध्ययन गरी प्रतिवेदन तयार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
“हामी तीन महिनाको समयमा अहोरात्र खटेर मुलुक र त्यहाँका नागरिकको हितका लागि एउटा अनुकरणीय काम गर्ने योजना छ”, सभापति पौडेलले भने, “तथ्य र तथ्याङ्कमा आधारित, राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा विश्वास गर्न सकिने र कार्यान्वयनमा ल्याउन सकिने किसिमको प्रतिवेदन तयार गर्छौं ।” उनले आवश्यकताअनुसार विषयविज्ञको सहयोग लिएर राष्ट्रिय तथा अन्तरराष्ट्रिय अभ्याससमेत अध्ययन गरी कार्यान्वयन गर्न सकिने प्रतिवेदन तयार गर्ने बताए ।




प्रतिक्रिया