उलानबटारमा भालुको आक्रमण, एकको मृत्यु


उलानबटार, २२ असोज । मङ्गोलियाको राजधानी उलानबटारको बाहिरी क्षेत्रमा भालुको आक्रमणमा एक पुरुषको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् । राजधानीमा भालु देखिने क्रम बढिरहेका बेला बुधबार राति बयानजुर्ख जिल्लामा घटना भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।

सहरको वातावरण विभागका प्रमुख मुन्खबयार एमका अनुसार घरमा रहेका ४० वर्षीय पुरुष र ५० वर्षीया महिलामाथि भालुले आक्रमण गरेको थियो । घाइते भएर भाग्न सफल भएकी महिलाले छिमेकीसँग सहयोग मागेकी थिइन् । उनको अस्पतालमा उपचार भइरहेको छ । घटनापछि ३५ जना रेन्जर परिचालन गरी भालुको खोजी भइरहेको छ ।

मुन्खबयारका अनुसार उलानबटारमा यस वर्ष २४ वटा भालु देखिएको पुष्टि भएको छ । सन् २०१८ मा दुई र सन् २०१९ मा एउटा मात्र देखिएको थियो । मङ्गोलियाभरि भने यस वर्ष ११ प्रान्त र राजधानीमा गरी ७५४ वटा भालु देखिएको रिपोर्ट भएको छ । तीमध्ये करिब ८० प्रतिशत बच्चा वा पोथी भालु रहेको बताइएको छ ।

भालु देखिने क्रम बढ्नुको कारणबारे अनुसन्धान भइरहेको छ । पूर्वी प्रान्त खेन्टीमा परीक्षण गरिएको एउटा भालुको पेटमा खाना नपाइएको वातावरण तथा जलवायु परिवर्तन मन्त्रालयका अधिकारी बाल्जिन्यम एनले बताए । त्यसपछि अधिकारीहरूले सेप्टेम्बरमा पहाडी क्षेत्रमा बदाम र जामुन सङ्कलन गर्न प्रतिबन्ध लगाएका थिए ।

मङ्गोलियाका आठ प्रान्तमा भालु सिकारको अनुमति दिइएको छ भने ग्रामीण क्षेत्रका रेन्जरलाई सहयोग गर्न बेहोस बनाउने डार्ट बन्दुक खरिद गर्ने तयारी गरिएको छ । 

विज्ञहरूका अनुसार खानाको उपलब्धतामा आएको परिवर्तन, सम्भावित जलवायु परिवर्तनको प्रभाव र ग्रामीण जनसङ्ख्या घट्नुजस्ता कारणले भालु मानिसको बस्ती नजिक आउन सक्ने देखिएको छ । जापानमा पनि पछिल्ला वर्षहरूमा भालु देखिने र मानिसमाथि आक्रमण हुने घटना बढेका छन् । रासस