चाडबाडमा महँगी र बिचौलिया नियन्त्रण गर्न उपभोक्ता अधिकारकर्मीको माग


काठमाडौँ । दशैँ, तिहार तथा छठजस्ता प्रमुख चाडपर्वको पूर्वसन्ध्यामा अस्वाभाविक रूपमा महँगी बढेको भन्दै उपभोक्ता अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले आपूर्ति शृंखला निरन्तर कायम राख्न सरकार चुकेको बताएका छन् ।

‘पहिले अमेरिका–इरान युद्धको बहानामा महँगी बढाइयो, तर यसको सोझो असर दिनभरि काम गरेर साँझ–बिहान छाक टार्ने सर्वसाधारणमा परेको छ,’ अध्यक्ष तिमल्सिनाले भने, ‘अझै वर्षा नहटिसकेकाले आपूर्ति शृंखला नै टुट्ने हो कि भन्ने जोखिम छ ।’

दाल, चामल, तरकारी, चिनी र खाना पकाउने ग्यासजस्ता अत्यावश्यकीय वस्तुको नियमित आपूर्तिमा सरकारको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ । उनले सरकारले सञ्चालन गर्ने सुपथ मूल्य पसल शहर–बजारमा मात्र सीमित नराखी देशका ७ सय ५३ वटै पालिकामा विस्तार गर्नुपर्ने माग गरे ।

माछामासुको मूल्य विनाआधार कृत्रिम र अस्वाभाविक रूपमा बढाइएको भन्दै उनले अवाञ्छित मूल्य वृद्धिलाई नियन्त्रण गर्न आग्रह गरे । ‘दाल, चामल, फलफूल र तरकारी बेच्ने व्यवसायीहरूले पनि चाडबाडको समयमा इमानदारीपूर्वक व्यवसाय गर्नुपर्छ,’ उनले भने, ‘सरकार कुनै पनि हालतमा बिचौलियाको फन्दामा पर्नु हुँदैन ।’

सरकारले आफ्ना गोदाममा कति खाद्यान्न मौज्दात छ भन्नेबारे सञ्चारमाध्यममार्फत नागरिकलाई स्पष्ट जानकारी दिनुपर्ने तिमल्सिनाको जोड थियो । संकट वा समस्या परेको खण्डमा हेलिकप्टरबाटै ल्याएर भए पनि जनतालाई खुवाउँछौँ भन्ने विश्वास दिलाएर नागरिकलाई आश्वस्त पार्न सरकारसँग उनले आग्रह गरे ।