कांग्रेस उपसभापतिमा किन गोविन्द भट्टराई? यस्ताे छ उनकाे संघर्ष र राजनीतिक यात्रा


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ उपसभापति पदका उम्मेदवार गोविन्द भट्टराईले आफ्नो राजनीतिक यात्रालाई संगठन, विचार र निरन्तर सक्रियतासँग जोड्दै आएका छन्। नेपाल विद्यार्थी संघको नेतृत्वदेखि कांग्रेसको केन्द्रीय राजनीतिसम्म लामो समय बिताएका भट्टराईले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै संगठनलाई बलियो बनाउने एजेन्डासहित उपसभापतिमा उम्मेदवारी दिएका हुन् ।

विद्यार्थी राजनीतिबाट नेतृत्वको यात्रा

तनहुँको व्यास नगरपालिका–११ रामथुम्कीमा जन्मिएका भट्टराईको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो। उनी २०३५ सालमा नेपाल विद्यार्थी संघमा आबद्ध भएका थिए। लामो समय विद्यार्थी संगठनमा सक्रिय रहेपछि २०५३ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष बने। २०५३ देखि २०५७ सालसम्म उनले दुई कार्यकाल नेविसंघको नेतृत्व सम्हालेका थिए।

नेविसंघको नेतृत्वमा रहँदा उनी कुर्सीमा मात्रै बसेनन् । भट्टराईले संगठन विस्तारसँगै भ्रष्टाचारविरुद्धको अभियानमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरे । उनको नेतृत्वमा भएको स्ववियु निर्वाचनमा धेरै क्याम्पसमा नेविसंघले जित हासिल गरेको थियो ।

अवसरभन्दा संगठनलाई प्राथमिकता

विद्यार्थी राजनीतिबाट मूल पार्टीमा प्रवेश गरेपछि भट्टराई कांग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय रहे। उनी २०७७ सालमा तत्कालीन सभापति शेरबहादुर देउवाबाट केन्द्रीय सदस्यमा मनोनीत भएका थिए। लामो राजनीतिक अनुभव भएपनी पार्टीको उच्च कार्यकारी पदमा भने उनी अहिलेसम्म पुग्न सकेका छैनन ।

भट्टराईको राजनीतिक यात्राको अर्को विशेषता भनेको आफूले पद नपाउँदा पनि संगठन र स्थानीय विकासका विषयमा निरन्तर सक्रिय रहनु रहेको कांग्रेसका नेताहरू बताउँछन् । विशेषगरी तनहुँका ग्रामीण क्षेत्रमा खानेपानीका योजना अघि बढाउन भूमिका खेलेका कारण उनलाई जिल्लामा ‘पानी मान्छे’ भनेर समेत चिनिन्छ।

पदमा नहुँदा पनि विकासका एजेन्डा

सांसद नभएको अवस्थामा समेत तनहुँका विभिन्न ग्रामीण क्षेत्रमा खानेपानी, सडकलगायतका पूर्वाधारका योजनामा भट्टराईले योगदान दिएका छन्। उनले तनहुँमा ६० भन्दा बढी खानेपानी परियोजनामा पहल गरेको स्थानीयले नै बताउँदै आएका छन् ।

खुल्ला उपसभापतितर्फ उम्मेदवारी दर्ता गर्दै भट्टराईले पार्टीभित्र आन्तरिक एकता कायम गर्दै बदलिँदो राजनीतिक परिस्थितिको सामना गर्न सक्ने कांग्रेस निर्माण आफ्नो उद्देश्य रहेको बताएका छन् । उनले पार्टीलाई गुटमुक्त बनाउने र पुनर्जागरणको एजेन्डासमेत अघि सारेका छन्।

‘खुल्ला उपसभापतिमा किन गोविन्द भट्टराई ?’

भट्टराई लामो राजनीतिक अनुभव भएका कांग्रेस नेता हुन्। विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेका उनी संघर्ष गर्दै पार्टीको केन्द्रसम्म पुगेका छन्। संगठन निर्माणमा सक्रिय भूमिका, पदमा नरहँदा पनि स्थानीय विकासका काममा निरन्तरता र व्यक्तिगत इमानदारीलाई उनका समर्थकहरूले उनको राजनीतिक यात्राको आधारका रूपमा प्रस्तुत गर्दै आएका छन्।

नैतिकता र निष्पक्षतालाई राजनीतिको आधार मान्ने भट्टराई पार्टीभित्र अनुभव र परिपक्वता भएका नेताका रूपमा परिचित छन्। गुटबन्दीको अन्त्य गर्दै कांग्रेसलाई एकताबद्ध र सुदृढ बनाउने उनको मुख्य एजेन्डा रहेको बताइएको छ।
पार्टी संगठनसँगै आर्थिक विकासका एजेन्डालाई पनि भट्टराईले प्राथमिकतामा राख्दै आएका छन्। आर्थिक समृद्धि, रोजगारी सिर्जना र जनताको जीवनस्तर सुधारसँग जोडिएका विषयलाई राजनीतिको केन्द्रमा राख्नुपर्ने उनको धारणा छ।