यातायात भाडा समायोजनको माग


खोटाङ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने यातायातका सवारीसाधनको भाडादर समायोजन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ। यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज खोटाङका प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङमार्फत कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय विराटनगरमा ज्ञापनपत्र पठाएको हो।

कोशी प्रदेश सरकारको निर्णयअनुसार यही असोज १९ गते प्रमुख जिल्ला अधिकारी गुरुङको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकबाट जिल्लाका पक्की तथा कच्ची ग्रामीण सडकमा सञ्चालन हुने सवारीसाधनको भाडादर प्रतिशतका आधारमा निर्धारण गरी सिफारिस गरेको थियो।

सर्वपक्षीय बैठकले गरेको निर्णयमा असहमति जनाउँदै महासङ्घले जिल्ला प्रशासन कार्यालयमार्फत प्रदेश सरकारलाई ज्ञापनपत्र पठाउँदै यात्रु र यातायात व्यवसायी दुवैको हितलाई ध्यानमा राखेर भाडादर निर्धारण गर्न माग गरेको हो।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, सवारी मजदुरको तलबभत्ता, सवारीसाधनमा प्रयोग हुने पार्टपुर्जाको मूल्य, मिस्त्री ज्याला तथा सञ्चालन खर्च बढेको भन्दै भाडादर पुनः समायोजन गर्न माग गरिएको महासङ्घका अध्यक्ष रामकुमार हिङमाङले जानकारी दिए।

“जिल्लाका ग्रामीण सडकहरू पूर्ण रूपमा पक्की भइसकेका छैनन्। यात्रुको चाप पनि पर्याप्त छैन”, उनले भने, “कतिपय अवस्थामा सवारीसाधन खाली सञ्चालन गर्नुपर्ने बाध्यता छ । छिमेकी जिल्लाको तुलनामा खोटाङमा हाल कायम रहेको भाडादर बढ्दो खर्चको अनुपातमा पर्याप्त नभएकाले लामो तथा छोटो दूरीका सवारीसाधनको भाडादर सोहीअनुसार कायम गरिदिन माग गरेका हौँ।”

जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले आफूखुसी भाडा असुल्दै आएका यातायात व्यवसायीलाई नियमन गर्न जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातको पहिलोपटक भाडादर निर्धारण गरेको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट स्थानीय तहका केन्द्रसम्म सञ्चालन हुने यात्रुवाहक बस, मिनीबस र हाइसका लागि प्रतिकिलोमिटर प्रतिव्यक्ति रु १३ तथा जिप/सुमोका लागि प्रतिकिलोमिटर प्रतिव्यक्ति रु १५ का दरले भाडादर निर्धारण गरिएको हो।

सर्वपक्षीय बैठकले निर्धारण गरेको यातायात भाडादरअनुसार दिक्तेलबजारबाट जयरामघाटसम्म बस, मिनीबस र हाइसका लागि रु ३७४ तथा सुमो/जीपका लागि रु ५११ कायम गरिएको छ। त्यस्तै, दिक्तेलबजारबाट त्रिधार्मिकस्थल हलेसीबजारसम्म बस, मिनीबस र हाइसको भाडा रु २१२ तथा सुमो/जीपको भाडा रु २९० निर्धारण गरिएको जनाइएको छ। दिक्तेलबजारस्थित रत्नपार्कको किरातचोकदेखि कारागारसम्म बस, मिनीबस तथा हाइसको भाडा प्रतिव्यक्ति रु १७ र सुमो/जीपको रु २३ तोकिएको छ ।

दिक्तेलबजारबाट मुडे, हुर्लुङ, पानीट्याङ्की, नुनथला प्रहरीचौकी, महुरे, बिजुले, अर्खौले, छापडाँडा, खोक्सेली, बोझेओडार, च्यास्मिटार, कदुवाभञ्ज्याङ, जयरामघाट, हिलेपानी तथा घुर्मीसम्मका विभिन्न सडकखण्डमा पनि दूरीअनुसार भाडा निर्धारण गरिएको हो ।

हिन्दू, बौद्ध र किराती धर्मावलम्बीको सङ्गमस्थल हलेसीबजारबाट अर्खौलेसम्म बस, मिनीबस तथा हाइसको भाडा रु ६७ र जीपको रु ९२, हलेसीदेखि बिजुलेसम्म क्रमशः रु ८४ र रु. ११५ तथा हलेसीबाट नुनथलासम्म रु १२९ र रु १७५ निर्धारण गरिएको छ।

दिक्तेलबजारबाट निर्मलीडाँडा, सेखुवा, खानीडाँडा र आहालेसम्मका लागि पनि दूरीअनुसार छुट्टाछुट्टै सडकखण्डको भाडादर निर्धारण गरिएको जनाइएको छ । जिल्लाका विभिन्न स्थानीय तहका केन्द्रसम्म सञ्चालन हुने यातायातका सवारीसाधनका लागि अस्थायी बाटो कायम गर्न प्रदेश सरकारसमक्ष सिफारिस गरिएको महासङ्घका अध्यक्ष हिङमाङले बताए।

उहाँका अनुसरा दिक्तेलबजारबाट बाक्सिलाबजार, मानेभञ्ज्याङ-साकेला, याङ्सोलाटार-दिप्रुङ चुइचुम्मा गाउँपालिकाह तथा हरमटार-रावाबेँसी गाउँपालिका, ऐसेलुखर्कबजार, खोटाङबजार, चिसापानी-जन्तेढुङ्गा गाउँपालिका र बागखोर-बराहपोखरी गाउँपालिका, खार्मी-बालाबेँसी, भाँडबेँसी-रसुवाघाट, टेम्मालगायत सडकखण्डलाई अस्थायी बाटो कायम गर्न प्रदेश यातायात व्यवस्थापन समितिसमक्ष सिफारिस गरिएको हो। रासस