काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिकाे लागि शुक्रबार बिहान ७ बजेबाट मतदान हुने भएकाे छ।
निर्वाचन समितिका अनुसार बिहीबार साँझसम्म २३ प्रकारका मतपत्र छपाइ सम्पन्न भएको छ। महाधिवेशनमा ८५० जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएपछि उनीहरूको उम्मेदवारीको वैधता परीक्षण गर्न समय लाग्दा मतपत्र तयार पार्न ढिलाइ भएको हो।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार मतदानका लागि करिब १ लाख ८० हजार मतपत्र आवश्यक पर्ने अनुमान गरिएको थियो। सम्भावित कमी हुन नदिन समितिले २ लाख प्रति मतपत्र छापेको छ।
शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ। महाधिवेशन प्रतिनिधिहरूलाई बिहान ६ बजेसम्म मतदानस्थलमा उपस्थित हुन आग्रह गरिएको छ। मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ भने साँझ ५ बजेसम्म निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया सम्पन्न गर्ने तयारी छ।
तीन दिनमा सबै परिणाम सार्वजनिक गर्ने तयारी
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मतदान सम्पन्न भएको तीन दिनभित्र सबै पदको परिणाम सार्वजनिक गर्ने दाबी गरेका छन्। उनका अनुसार मतपत्र, मतदानस्थल, मतपेटिका तथा आवश्यक जनशक्तिको व्यवस्थापन पूरा भइसकेको छ।
मतदानपछि मतपेटिकालाई कांग्रेस केन्द्रीय कार्यालय सानेपामा लगेर मतगणना गरिनेछ। मतगणनालाई छिटो सम्पन्न गर्न पार्टी कार्यालयमा १२ देखि १३ स्थानमा एकैपटक गणना गर्ने तयारी छ।
मतगणनाका लागि करिब ५०० कानुन व्यवसायीलाई परिचालन गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ। पर्याप्त जनशक्ति र ठाउँ भएकाले तीन दिनभित्रै सबै परिणाम सार्वजनिक गर्न सकिने समितिको विश्वास छ।
विद्युतीय मतदान किन भएन?
यसपटक कांग्रेसले विद्युतीय अर्थात् डिजिटल मतदान प्रणाली प्रयोग गर्ने सम्भावनाबारे प्राविधिक कम्पनीहरूसँग छलफलसमेत गरेको थियो। तर, उम्मेदवार र महाधिवेशन प्रतिनिधिको संख्या ठूलो भएकाले डिजिटल प्रणालीबाट मतदान गराउँदा झन् धेरै समय लाग्ने देखिएपछि उक्त विकल्प त्यागिएको हो।
निर्वाचन समितिका सदस्यसचिव कटुवालका अनुसार प्राविधिक अध्ययनमा एक जना प्रतिनिधिले डिजिटल माध्यमबाट मतदान गर्न करिब ४० मिनेटसम्म लाग्न सक्ने देखिएको थियो। सोही आधारमा सबै प्रतिनिधिको मतदान सम्पन्न गर्न तीन दिनभन्दा बढी समय लाग्ने भएपछि अन्तिममा परम्परागत कागजी मतपत्रबाटै निर्वाचन गर्ने निर्णय गरिएको हो।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा जारी छ।




प्रतिक्रिया