बुढानीलकण्ठबाट २२ किलो सुन बरामद, बजार मूल्य ५५ करोडभन्दा बढी

File photo

काठमाडौँ । प्रहरीले काठमाडौँको बुढानीलकण्ठस्थित चपलीबाट करिब २२ किलो सुन बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार चपली क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेसनका क्रममा ठूलो परिमाणमा सुन फेला पारेको हो।

प्रहरीका उच्च स्रोतका अनुसार सुन बरामद गर्ने उद्देश्यले टोलीले बिहीबार मध्याह्नदेखि चपली क्षेत्रमा निगरानी तथा अपरेसन सञ्चालन गरेको थियो। सोही क्रममा करिब २२ किलो सुन बरामद भएको हो।

सुनसँग सम्बन्धित रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा समेत लिइएको प्रहरी स्रोतले जनाएको छ। पक्राउ परेकाहरूको पहिचान र घटनासँग उनीहरूको सम्बन्धबारे प्रहरीले भने औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन।

बरामद सुनको परिमाणलाई बिहीबारको बजार मूल्यसँग तुलना गर्दा यसको कुल मूल्य करिब ५५ करोड रुपैयाँभन्दा बढी हुन आउँछ। बिहीबार नेपालमा सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम थियो। २२ किलो सुन करिब १ हजार ८८५ तोला हुने भएकाले उक्त दरअनुसार यसको मूल्य करिब ५५ करोड २२ लाख ६३ हजार रुपैयाँ पुग्छ।

प्रहरीले बरामद सुन, पक्राउ परेका व्यक्ति तथा अपरेसनबारे विस्तृत जानकारी दिन शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएको छ।