काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार मतदान भइरहेको छ। काठमाडौंको खुलामञ्च र राष्ट्रिय सभागृहमा बिहान करिब ८ बजेदेखि मतदान सुरु भएको हो।
निर्वाचन समितिले मतदानका लागि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरेको छ। एक जना प्रतिनिधिलाई मतदान प्रक्रिया पूरा गर्न करिब ३० देखि ४० मिनेट लाग्ने निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिएका छन्।
महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि सहभागी छन्। मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लैजान रोक लगाइएको छ। प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेपछि मात्रै मतदान गर्न पाउनेछन्।
यस निर्वाचनबाट पार्टी सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य चयन हुनेछन्। उम्मेदवारी परेको पदअनुसार प्रतिनिधिहरूले सम्बन्धित मतपत्रमा आफ्नो मत जाहेर गरिरहेका छन्।
मतदान सम्पन्न भएपछि मतपेटिकालाई सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ। मतगणना भने पार्टीको केन्द्रीय कार्यालय सानेपामा गरिनेछ।




प्रतिक्रिया