वीरगञ्जको मेयरमा सोनारको उम्मेदवारी घोषणाः ५१ हजारभन्दा बढी मतले जित्ने दाबी


काठमाडौँ । वीरगञ्ज महानगरपालिकाको आगामी स्थानीय तह निर्वाचनमा रामबाबु साह सोनारले मेयर पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले ५१ हजारभन्दा बढी मत ल्याएर वीरगञ्जको मेयर जित्ने दाबी गरे।

चर्चित पत्रकार ऋषि धमलाले गठन गरेको ‘स्वतन्त्र नागरिक अभियान’बाट प्रभावित भई आफूले गैरदलीय उम्मेदवारी दिने निर्णय लिएको उनले बताए। ऋषि धमलालाई ‘देश र मधेसकै शान’को संज्ञा दिँदै सोनारले राजनीतिक दलहरूबाट आजित भएका वीरगञ्जवासीका लागि स्वतन्त्र उम्मेदवारी उपयुक्त विकल्प भएको दाबी गरे।

‘वीरगञ्जवासीले नेपाली कांग्रेस, एमाले, माओवादी र मधेसवादी दलहरू सबैलाई हेरिसके, तर कसैले पनि जनभावनाअनुरूप काम गर्न सकेनन्,’ उनले भने, ‘त्यसैले एकपटक मलाई रोज्न नगरवासीसँग आग्रह गर्दछु। चुनाव जितेपछि सम्पूर्ण नगरवासीका लागि निष्पक्ष भएर काम गर्नेछु।’

जनताले खोजेका बखत जुनसुकै बेला उपस्थित हुने प्रतिबद्धता जनाउँदै उनले वीरगञ्जको समृद्धि र युवाकेन्द्रित एजेन्डाहरू अघि सारेको बताएका छन्।

पाँच वर्षमा वीरगञ्जलाई सुन्दर नगरी बनाउने समेत उनले दाबी गरेका छन् ।

कार्यक्रममा कृषि क्रान्ति नेपालका अध्यक्ष राजेन्द्रप्रसाद साहले पनि आफ्नो विचार व्यक्त गरेका थिए ।