स्कुल बस दुर्घटनाः छानबिन समिति गठन


कास्की, २३ असोज । पोखरा महानगरपालिकाले पोखरा–२८ मा आज भएको कालिका बोर्डिङ स्कुलको स्कुल बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिका सदस्यमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई रहेका छन् ।

समितिलाई दुर्घटनाको कारण तथा घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन र छानबिन गरी पाँच दिनभित्र सत्यतथ्यसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

माझठानाबाट विद्यार्थी बोकेको बस कालिकास्थित ओख्लेको भिरमा दुर्घटना हुँदा चार विद्यार्थी सहित पाँच जनाको मृत्यु हुनाका साथै १४ जना विद्यार्थी घाइते छन् ।

महानगरपालिकाका प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष धनराज आचार्यका अनुसार दुर्घटनाको कारण पहिचान गर्न, घटनासँग सम्बन्धित विषयको विस्तृत अध्ययन, छानबिन र आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायसहित सुझाव पेस गर्न समिति गठन गरिएको हो ।

समितिले विद्यालयका सवारीसाधनको सुरक्षा अवस्था, विद्यार्थीको सुरक्षित आवागमन तथा आगामी दिनमा अपनाउनुपर्ने सावधानीका विषयमा आवश्यक सुझावसमेत प्रस्तुत गर्नेछ ।

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै नगरप्रमुख आचार्यले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते विद्यार्थी, चालक तथा सहचालकको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

विद्यार्थीको सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उनले विद्यालयका सवारीसाधनको नियमित जाँच, निर्धारित सुरक्षा मापदण्डको कडाइका साथ पालना तथा प्रभावकारी अनुगमन गर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका छन् ।