काठमाडौं । दोलखामा विकास निर्माणका आयोजना लामो समयदेखि अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरिएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजन कार्यालय चरिकोटले निर्धारित समयभित्र काम सम्पन्न नगर्ने व्यवसायीको ठेक्का तोडेको हो।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९/८० देखि विभिन्न आयोजना निर्माणको जिम्मा लिएका व्यवसायीले काम अघि नबढाएपछि उनीहरूमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको हो।
सडक डिभिजन कार्यालयले पटक–पटक लिखित रूपमा काम अघि बढाउन ताकेता गर्दा पनि निर्माण कार्यमा प्रगति नभएपछि ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय गरिएको जनाएको छ।
ठेक्का तोडिएसँगै अधुरा आयोजना सम्पन्न गर्न लाग्ने थप खर्च र निर्माण कार्य अलपत्र पार्दा भएको क्षतिको मूल्याङ्कन गरिने भएको छ। त्यसबाट कायम हुने रकम सम्बन्धित निर्माण व्यवसायीबाट ३० दिनभित्र सरकारी बाँकीसरह असुल गरिने भन्दै कार्यालयले सूचना जारी गरेको छ।





प्रतिक्रिया