बागलुङ । बाढीपहिरोबाट बागलुङको निसीखोला गाउँपालिकामा झण्डै १० करोड रुपैयाँको क्षति पुगेको छ। असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाले गाउँपालिकामा ठूलो धनजनको क्षति भएको हो।
अविरल वर्षासँगै आएको बाढीपहिरोले निसीखोलामा पाँच जनाको ज्यान गएको र करिब १० करोड रुपैयाँ बराबरको भौतिक क्षति पुगेको निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरले बताएका छन्। निसीखोला गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। पहिरोमा परी श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश तथा निसान विकको ज्यान गएको हो। त्यसैगरी निसीखोला–६ मा गोठ पुरिँदा गोठभित्र सुतिरहेका सुर्ज घर्तीमगरको मृत्यु भएको थियो।
गाउँपालिका–४ स्थित कानाबगर र झिवाखोला बजारको केही भाग बगरमा परिणत भएको छ। मध्यपहाडी लोकमार्गको निसीखोला खण्डमा पनि बाढीपहिरोले ठूलो क्षति पुर्याएको छ। झिवाखोला बजारको पुरानो बजार, हार्डवेयर, फर्निचर, किराना पसल तथा लिटिल रोज बोर्डिङसहित प्रहरी चौकीमा समेत क्षति पुगेको छ।
गाउँपालिकामा सडक पूर्वाधार, निजी आवास, विद्यालय तथा स्वास्थ्य चौकी भवन, खानेपानी, सिँचाइ, लघु विद्युत्, पुल र कृषि क्षेत्रमा ठूलो नोक्सानी भएको छ। गाउँपालिकाभरिमा निसीखोलामा आएको बाढी र विभिन्न क्षेत्रमा खसेको पहिरोले नौ करोड ९२ लाख २९ हजार ९५० रुपैयाँको भौतिक क्षति गराएको छ।
क्षति भएका विभिन्न क्षेत्रहरूको विवरण यस प्रकार रहेको छ:
- सडक पूर्वाधार: तीन करोड ४० लाख रुपैयाँ
- भवन तथा आवास: पाँच करोड ३० लाख रुपैयाँ
- सिँचाइ: ३५ लाख ३८ हजार रुपैयाँ
- विद्युत्: ३७ लाख ४० हजार रुपैयाँ
- कृषि क्षेत्र: ३३ लाख २८ हजार रुपैयाँ
- झोलुङ्गे पुल: २० लाख रुपैयाँ
- खानेपानी: पाँच लाख १२ हजार रुपैयाँ
बाढीपहिरोले सडक पूर्वाधारमा क्षति पुर्याउँदा ग्रामीण क्षेत्रको जनजीवन नै प्रभावित बनेको छ। कालोपत्र सडक, ढलान सडक, ग्याबिन पर्खाल र नालीमा समेत बाढीपहिरोले ठूलो क्षति पुर्याएको छ।




प्रतिक्रिया