युवा साहित्यकार यज्ञराज जोशीको कथासंग्रह ‘बैसाखी’ लोकार्पण


काठमाडौँ। युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कथासंग्रह ‘बैसाखी’ बजारमा आएको छ। काठमाडौँमा आयोजित एक समारोहका बिच उक्त कृतिको लोकार्पण गरियो।

त्रिभुवन विश्वविद्यालयका प्रा.डा. महादेव अवस्थी, वरिष्ठ साहित्यकार तथा समालोचक ज्ञानु अधिकारी र पुस्तकका सम्पादक सुभाषचन्द्र भण्डारीलगायतका अतिथिहरूले संयुक्त रूपमा पुस्तकको विमोचन गरे।

भुइँमान्छेका संवेदना र सुदूरपश्चिमको परिवेश

कार्यक्रममा बोल्दै वक्ताहरूले ‘बैसाखी’भित्र सुदूरपश्चिमको मौलिक परिवेश, संघर्षशील भुइँमान्छेहरूको कथा र नारीवादी मनोविज्ञानलाई सशक्त ढङ्गले उठाइएको बताएका छन्। लेखकमा गहिरो सिर्जनात्मक प्रतिभा, अदम्य इच्छाशक्ति र आधुनिक कथाशिल्प विद्यमान रहेको औँल्याउँदै समालोचकहरूले कथाको शैली काव्यात्मक बनाउँदा कथानकको मर्ममा आघात नपुगोस् भन्नेतर्फ भने सचेत रहन सुझाव दिएका छन्।

कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. टीएन जोशी, प्राध्यापक एवं पत्रकार माधव नेपाल, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व सभापति एवं कांग्रेसका पूर्व केन्द्रीय सदस्य आनन्द विष्टले लेखक जोशीको मिलनसार र मिजासिलो बानीको प्रशंसा गर्दै बौद्धिक सम्पत्ति सार्वजनिक गर्दा प्राप्त हुने सन्तुष्टिको कुनै मूल्य नहुने बताए ।

सात वर्षको साधना र देउडाको प्रेरणा

साहित्य यात्राको पृष्ठभूमि स्मरण गर्दै लेखक जोशीले आफ्नी आमाले भारतमा रहेका बुबालाई लेख्ने चिठीहरूमा प्रयोग हुने ‘देउडा’का भाकाहरू नै आफ्ना लागि साहित्य सिर्जनाको प्राथमिक प्रेरणा बनेको बताए। लगातार ७ वर्षको लामो प्रतीक्षा, अध्ययन र मिहिनेतपछि यो कृति पाठकमाझ ल्याउन सफल भएको उनको भनाइ छ।

बजारमा उच्च माग

शिखा बुक्सले प्रकाशन गरेको ‘बैसाखी’ कथासंग्रहको बजार मूल्य रु. ५९५/- निर्धारण गरिएको छ। पुस्तक औपचारिक रूपमा लोकार्पण हुनुपूर्व नै बजार तथा पाठकमाझ यसको व्यापक माग र उत्सुकता देखिएको प्रकाशकले जनाएको छ।