काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीपछि सरकारले खोजी, उद्धार तथा राहतका काम तीव्र बनाएको बताएका छन्। आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बाढीमा परी पाँच जना बेपत्ता भएको सूचना प्राप्त भएको र उनीहरूको खोजी भइरहेको जानकारी दिएका हुन्।
प्रधानमन्त्रीका अनुसार गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच आइतबार बिहान पहिरो खसेपछि बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएको थियो। बाढीले तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको उनले बताएका छन्।
बाढीले झोलुङ्गे तथा पक्की पुल, टेलिफोन टावर, विद्युत्का पोल, निर्माणाधीन बूढीगण्डकी हाइड्रो आयोजनाको क्याम्प, निर्माण उपकरण र आसपासका घरहरू बगाएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
उद्धारमा ४३७ सुरक्षाकर्मी र चार हेलिकोप्टर
प्रधानमन्त्री बालेनका अनुसार प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ४३७ सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाली सेनाका १२७, नेपाल प्रहरीका १३३ र सशस्त्र प्रहरी बलका १७७ जना उद्धार कार्यमा खटिएका छन्। उद्धारका लागि नेपाली सेनाका चारवटा हेलिकोप्टरसमेत परिचालन गरिएको उनले बताएका छन्।
बाढीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी टोली परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्रधानमन्त्रीले जानकारी दिएका छन्।
त्यस्तै, गोरखाको सल्लेरीस्थित निर्माणाधीन बूढीगण्डकी हाइड्रो आयोजनाका १२ कर्मचारीसहित ४८ जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको उनले बताएका छन्। प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ।
६ जिल्लामा २ लाख एसएमएसमार्फत पूर्वसूचना
बाढीको सम्भावित जोखिमबारे सर्वसाधारणलाई सचेत गराउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहान ६ बजे गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम) जिल्लाका २२१ जना प्रतिकार्यकर्तालाई तत्काल परिचालन हुन एसएमएस पठाएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
त्यसैगरी, जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र बाढी पूर्वानुमान महाशाखामार्फत गोरखादेखि धादिङ हुँदै चितवनको बेनिघाटसम्मका बासिन्दालाई दुई चरणमा करिब दुई लाख एसएमएस पठाएर पूर्वसूचना दिइएको उनले जानकारी दिएका छन्।
बाढीको कारण पत्ता लगाउन विज्ञ टोली परिचालन
बाढी आउनुको कारण पत्ता लगाउन भूगर्भविद्सहित तीन सदस्यीय टोली ड्रोन लिएर प्रभावित क्षेत्रमा परिचालन गरिएको प्रधानमन्त्रीले बताएका छन्। नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा थप ५० जनाको टोलीलाई आवश्यकताअनुसार परिचालन गर्न तयारी अवस्थामा राखिएको छ।
विपद् प्रतिकार्य कमान्ड पोस्टको बैठक निरन्तर जारी रहेको र त्यसबाट बाढीको अवस्था अनुगमन, जोखिम विश्लेषण, सूचना सम्प्रेषण तथा सम्बन्धित निकायबीच समन्वय र सहजीकरण भइरहेको उनले बताएका छन्।
आरुघाटमा बेलीब्रिज जडानको तयारी
बाढीले क्षति पुर्याएका सडक तथा पुल पुनः सञ्चालनमा ल्याउने उद्देश्यले सडक विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली सम्भाव्यता अध्ययनका लागि परिचालन गरिएको प्रधानमन्त्रीले जानकारी दिएका छन्।
सरकारले प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउने र क्षतिग्रस्त पूर्वाधार पुनः सञ्चालन गर्ने काम अघि बढाएको उल्लेख गर्दै आरुघाटमा बेलीब्रिज जडानको तयारी थालिएको उनले बताएका छन्।
प्रधानमन्त्री बालेनले बूढीगण्डकी नदीको तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा बस्न, जोखिमयुक्त पुल तथा सडक प्रयोग नगर्न र स्थानीय प्रशासन एवं सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरेका छन्।




प्रतिक्रिया