कांग्रेस उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको जित सुनिश्चित


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फ उपसभापति र महामन्त्री पदमा क्रमशः चन्द्रकान्त भण्डारी र प्रदीप पौडेलको जित सुनिश्चित भएको छ। आइतबार राति ९ बजेसम्मको मतगणनामा दुवै उम्मेदवारले गणना हुन बाँकी मतभन्दा बढीको अग्रता बनाएपछि उनीहरूको जित सुनिश्चित भएको हो।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार उपसभापति र महामन्त्रीका लागि हालसम्म ५ हजार ५०० मत गणना भएको छ। अब करिब १ हजार ५०० मत गणना गर्न बाँकी छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणना राति पनि निरन्तर हुने समितिले जनाएको छ।

उपसभापतिमा भण्डारीको बलियो अग्रता

खुलातर्फ उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारीले २ हजार ८३४ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका ई. मधु आचार्यले १ हजार ७३२ मत पाएका छन्। भण्डारीले आचार्यभन्दा १ हजार १०२ मत बढी प्राप्त गरेका छन्।

अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार ४३५, सुरेन्द्रराज पाण्डेले १ हजार ३५०, धनराज गुरुङले १ हजार २६६, दीपक गिरीले ७४४ र प्रा. डा. चन्द्रमोहन यादवले ५०७ मत प्राप्त गरेका छन्।

कांग्रेसमा खुलातर्फ दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ। उपलब्ध मतपरिणामअनुसार भण्डारीको जित सुनिश्चित भएको छ भने दोस्रो पदका लागि प्रतिस्पर्धा जारी छ।

समावेशी उपसभापतिमा चौधरी अगाडि

समावेशीतर्फ उपसभापति पदमा बिनोदकुमार चौधरीले अग्रता कायम राखेका छन्। उनले १ हजार ३६९ मत प्राप्त गर्दा जीवन परियारले १ हजार २९९ मत पाएका छन्। दुई उम्मेदवारबीच ७० मतको अन्तर छ।

त्यस्तै, सीता गुरुङले ८८४, फरमुल्लाह मंसुरले ७९५ र रंजीत कर्णले ४२७ मत प्राप्त गरेका छन्।

महामन्त्रीमा पौडेलको जित सुनिश्चित

खुलातर्फ महामन्त्री पदमा प्रदीप पौडेलले ३ हजार १७७ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका उदयशम्शेर राणाले १ हजार ७९४ मत पाएका छन्। पौडेल र राणाबीच १ हजार ३८३ मतको अन्तर रहेको छ।

कांग्रेसमा खुलातर्फ दुई जना महामन्त्री निर्वाचित हुने भएकाले दोस्रो पदका लागि राणा र डा. सुनिलकुमार शर्माबीच प्रतिस्पर्धा देखिएको छ। शर्माले १ हजार ७१५ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारमध्ये गुरुराज घिमिरेले १ हजार १२०, अमरसिंह पुन मगरले ९९५, नैनसिंह महरले ८४०, शंकर तिवारीले १०५ र डा. सन्तोष उपाध्यायले ८१ मत पाएका छन्।

हालसम्मको परिणाममा पौडेलको मतान्तर गणना गर्न बाँकी मतभन्दा बढी रहेकाले उनको जित सुनिश्चित भएको छ।

महिला महामन्त्रीमा डिला संग्रौलाको अग्रता

महिलातर्फ महामन्त्री पदमा डा. डिला संग्रौला (पन्त) ले अग्रता बढाएकी छन्। उनले २ हजार ४१८ मत प्राप्त गरेकी छन्।

उनलाई महालक्ष्मी उपाध्याय (डिना) ले पछ्याइरहेकी छन्। डिनाले २ हजार २२२ मत प्राप्त गर्दा रीता खनालले ५६० मत पाएकी छन्।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी छ। निर्वाचन समितिका अनुसार बाँकी मत गणना गर्न राति पनि कामलाई निरन्तरता दिइनेछ। अन्तिम नतिजा भने मतगणना सम्पन्न भएपछि सार्वजनिक हुनेछ।