म्याग्दी । बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ।
गत असोज ८ देखि ११ गतेसम्मको झरीका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसभसेमा बाढीको कटानले सडक भासिएको र बगेका कारण यातायातका साधन सञ्चालनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ।
पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको सडक पुलको पहुँचमार्ग कालीगण्डकीले बगाएपछि मध्यपहाडी लोकमार्ग भएर बागलुङ, रुकुम पूर्व-पश्चिम र जाजरकोटबाट पोखरा तथा काठमाडौँ आउजाउ गर्ने सवारी साधनहरूले पनि बागलुङ–बेनी–मालढुङ्गाको वैकल्पिक सडक प्रयोग गरिरहेका छन्।
बेनी नगरपालिका–२ खबराका कमल सुवेदीका अनुसार सडक दबेको ठाउँमा हिलोमा गाडी फस्ने, उकालो उक्लिन नसक्ने, सवारी साधनको जाम हुने र बाटो साँघुरो भएकाले दुर्घटनाको पनि जोखिम रहेको छ।
नदी कटान र पहिरोका कारण एक सय मिटर दुरीमा सडक साविकको भन्दा दुई देखि तीन मिटर भासिएको र दबेको उनले बताए। सवारी साधनको चाप बढेको हुँदा घण्टौँ जाम हुने गरेको उनले जानकारी दिए।
आर्थिक वर्ष २०८१/०८२ मा सडक डिभिजन कार्यालय बागलुङले भसभसे पहिरोको भूमिगत पानी व्यवस्थापन र हिलोमा ढलान गरेको थियो। तर हाल ढलान गरिएको सडक सबै भासिएको छ।
जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रीका अनुसार भसभसेमा यातायात व्यवस्थापनका लागि सडक डिभिजन कार्यालयले मर्मत र उपकरण परिचालन गरे पनि प्रतिकूल भूगोलका कारण समस्या समाधान हुन सकेको छैन।
सडक डिभिजनले ग्राभेल राखे पनि दबेर भोलिपल्ट पहिलेकै जस्तो अवस्था हुने गरेको उनले बताइन्। सडक भासिने र दब्ने क्रम नरोकिएकाले फसेका गाडीहरूलाई डोजरको सहायताले तार्ने गरिएको उनले जानकारी दिइन्।
भसभसे पहिरोका कारण खबरा गाउँ पनि जोखिममा परेको छ। कालीगण्डकी र म्याग्दी नदीको दोभानमा पक्की पर्खाल लगाएर तटबन्ध गर्नाका साथै पहिरोग्रस्त ठाउँमा ग्रेड मिलाउने र पक्की बनाउन सडक डिभिजन कार्यालयमार्फत पहल गरिएको कार्यवाहक प्रमुख खत्रीले बताएकी छन्।




प्रतिक्रिया