कांग्रेस जनसम्पर्क समितिबाट ७ केन्द्रीय सदस्य निर्वाचित, कसले कति मत पाए?


काठमाडौँ । नेपाली कांग्रेसको जनसम्पर्क समितितर्फबाट सात जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार विभिन्न क्षेत्र र समावेशी समूहबाट सात जना निर्वाचित भएका हुन्।

जनसम्पर्क समितितर्फका दुई महिला केन्द्रीय सदस्यमा सीता सापकोटा घिमिरे र चन्द्रा अधिकारी निर्वाचित भएका छन्। घिमिरेले ३ हजार ११३ मत प्राप्त गर्दा अधिकारीले २ हजार ८९६ मत पाइन्। यस समूहमा पाँच जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

त्यस्तै, जनसम्पर्क समितिको युरोप क्षेत्रबाट जितेन्द्रविक्रम शाही केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले १ हजार ४१२ मत प्राप्त गरे। उक्त समूहमा आठ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

ओसियाना–अमेरिका क्षेत्रबाट सिए. विद्या भूषण कार्की केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। कार्कीले १ हजार ९५१ मत प्राप्त गरे। यस समूहमा चार जना उम्मेदवार थिए।

यसैगरी, मध्यपूर्व क्षेत्रबाट पुरुषोत्तम खनाल निर्वाचित भएका छन्। उनले २ हजार ९४ मत प्राप्त गरे। उक्त समूहमा चार जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

प्यासिफिक क्षेत्रबाट डा. बलराम श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले १ हजार ९२० मत प्राप्त गरे। यस क्षेत्रमा सात जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

भारत क्षेत्रबाट बालकृष्ण पाण्डे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले ३ हजार ८२७ मत प्राप्त गरे। उक्त क्षेत्रमा दुई जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।

निर्वाचन समितिका अनुसार जनसम्पर्क समितिका विभिन्न क्षेत्र तथा समूहबाट निर्वाचित यी सात जनाले नेपाली कांग्रेसको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्नेछन्।