काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आतङ्कवाद तथा बहुराष्ट्रिय अपराध नियन्त्रणका लागि क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। उनले सुरक्षित सूचना आदानप्रदान, समन्वयात्मक प्रयास र यसअघि गरिएका प्रतिबद्धताको समयमै कार्यान्वयन आवश्यक रहेको बताएका हुन्।
भारतमा मंगलबार आयोजित बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै गुरुङले सदस्य राष्ट्रहरूबीच सहकार्य विस्तार गर्नुपर्ने धारणा राखेका थिए।
क्षेत्रीय विपद् प्रतिरोधात्मक क्षमता सुदृढ गर्ने उद्देश्यले उनले संयुक्त कार्यदलमार्फत सञ्चालन हुने गरी ‘बिमस्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य संरचना’ स्थापना गर्न प्रस्तावसमेत गरेका छन्। भारतस्थित नेपाली दूतावासले गृहमन्त्री गुरुङको प्रस्तावबारे जानकारी दिएको हो।
सम्बोधनका क्रममा गुरुङले हालैका प्राकृतिक विपद्का बेला नेपालप्रति ऐक्यबद्धता जनाउँदै सहयोग उपलब्ध गराएका बिमस्टेक सदस्य राष्ट्रहरूलाई धन्यवाद दिएका थिए।
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गुरुङ सोमबार भारत पुगेका हुन्। भ्रमणका क्रममा उनले भारतीय गृहमन्त्री अमित शाहसहित उच्चस्तरीय अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। साथै, बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूसँग पनि छलफल गर्ने बताइएको छ।




प्रतिक्रिया