सुदूरपश्चिम प्रदेशको बजेट पारित



सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ । प्रदेशसभाको आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष २०८३/८४ को बजेट बहुमतले पारित गरेको हो । यससँगै करिब तीन महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो ।

आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । सोही दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो । बजेटमाथिको छलफल सुरु हुनुअघि नै विवाद चर्किएपछि त्यसयत प्रदेशसभा बैठक प्रभावित हुँदै आएको थियो ।

बजेट विवाद समाधान गर्न सत्ताको नेतृत्वकर्ता दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बजेट संशोधन तथा विवादित विषयको छानबिन गर्न र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमत भएपछि प्रक्रिया अगाडि बढेको थियो ।

यहाँ बजेटको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ७२ करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भइ प्राप्त हुने अनुमानित रकम १० अर्ब २४ करोड ९२ लाख ६७ हजार रहेको छ । संघीय रोयल्टी बाँडफाँटबापत प्राप्त हुने सात करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान नौ अर्ब ६ करोड ३३ लाख, आर्थिक वर्ष २०८२/८३ को विनियोजनबाट बचत हुने नौ अर्ब ६५ करोड, ससर्त अनुदानबाट प्राप्त हुने ६ अर्ब तीन करोड ५८ लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने ३८ करोड ८० लाख र विशेष अनुदानबाट ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान रहेको छ ।

यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले गत असार १ गते बजेट प्रस्तुत गरे पनि सत्ता गठबन्धन बदलिएपछि  बजेट पारित हुनसकेको थिएन । सोही असार २९ गते नेकपा (एमाले) को समर्थनमा नेपाली कम्युनिस्ट पार्टीका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो ।

प्रदेशसभाको आजको अर्को बैठक अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको सभामुख भण्डारीले सभालाई जानकारी गराए । रासस