तीन महिला फुटबल खेलाडीलाई आर्थिक सहयोग


तेह्रथुम । ग्लोबल तेह्रथुम सेवा समाज दक्षिण कोरियाले तेह्रथुमबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय महिला फुटबल टोलीका तीन खेलाडीलाई आर्थिक सहयोग गरेको छ।

समाजले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी अनु बस्नेत, राष्ट्रिय महिला फुटबल टोलीको १९ वर्षमुनिको टोलीकी खेलाडी सेमिहाङ्मा पङ्धाक र १७ वर्षमुनिको टोलीकी खेलाडी साहारा तुम्बाहाम्फेलाई जनही रु ५० हजारका दरले कूल रु एक लाख ५० हजार सहयोग गरेको हो।

खेलाडीको खेलप्रतिको लगाव, मेहनत र समर्पणलाई प्रोत्साहन गर्दै मनोबल उच्च बनाउने तथा आगामी दिनमा खेल क्षेत्रमा अझ उत्साहका साथ अघि बढ्न प्रेरित गर्ने उद्देश्यले सहयोग प्रदान गरिएको संस्थाका अध्यक्ष सन्दीप हुक्पा चोङवाङले बताए।

समाजका विशिष्ट सल्लाहकार नवराज सिवाकोटी र सल्लाहकार रामप्रसाद उप्रेतीको पहलमा काठमाडौँमा आयोजित कार्यक्रममा तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सन्तोष सुब्बाको प्रमुख आतिथ्यमा खेलाडीलाई सहयोग रकम हस्तान्तरण गरिएको अध्यक्ष चोङबाङले बताए।

सन् २०१२ मा ‘दक्षिण कोरियामा छरिएर रहेका सम्पूर्ण तेह्रथुमेलीहरू एक हौँ’ भन्ने मूल नारासहित स्थापना भएको समाजले स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्य गर्दै आएको छ।

कोरियामा कार्यरत तेह्रथुमेलीलाई आइपर्ने समस्या समाधान, हकअधिकार र न्यायका लागि आवश्यक पहल गर्नुका साथै नेपाल तथा कोरियामा दुर्घटनामा परेका र जटिल रोगबाट ग्रसित भई उपचार गर्न आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई सहयोग गर्दै आएको समाजले जनाएको छ। तेह्रथुममा बाढीपहिरो, आगलागी, महामारीलगायत प्राकृतिक तथा अन्य विपद्का समयमा पनि समाजले आर्थिक सहयोग गर्दै आएको छ।