म्याग्दी । म्याग्दी नदीमा गएको बाढीले क्षति पुर्याएको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्ड पुनःनिर्माण भएको छ ।
यही असोज ८ देखि ११ गतेसम्मको झरिपछि म्याग्दी नदीको किनारमा रहेको तातोपानीको कुण्डहरूमा क्षति पुगेको थियो । मुख्य पोखरी र परिसरमा थुप्रिएको हिलो, बालुवा र गेग्रान श्रमदान अभियानमार्फत पन्छाएर पुनःनिर्माण गरिएको सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए।
“सिङ्गाका विभिन्न टोल, युवा क्लब, आमा समूह र दाताको सहयोगमा १६ दिनमा कुण्डको पुनःनिर्माण गरेर बुधबारदेखि स्नानका लागि खुला गर्न लागेका छौँ”, उनले भने, “स्थानीयवासी र सङ्घसंस्था तथा श्रमदाताको सहयोगमा छिट्टै कुण्ड सञ्चालन गर्ने अवस्था आएको हो ।”
तीन वटा पोखरीमध्ये बिरामीले उपचारका लागि डुब्ने ठूलो र उपल्लो तातोपानीको पोखरीमा बाढी पसेर हिलो थुप्रिएको छ भने पर्यटकका सञ्चालित सानो पोखरी बाढीले भत्काएको थियो। कपडा परिवर्तन गर्ने भवन, तातोपानी भण्डारण गर्ने ट्याङ्की राखेका भवन र खुला स्नानस्थल माथिबाट खसेको पहिरोले भत्किएको र पुरिएको थियो।
श्रमदान गरेर पोखरीमा थुप्रिएको लेदो र हिलो पन्छाइएको हो । असोज–कात्तिक सिङ्गा तातोपानी कुण्ड स्नान गर्ने मुख्ययाम हो। वार्षिक २० हजार जनाभन्दा बढी नेपालका ७७ वटै जिल्ला र विदेशबाट समेत सर्वसाधारण प्राकृतिक उपचारका लागि आउने गरेका छन् । म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा बिरेनुनको गन्ध आउने ५० डिग्री सेल्सीयस तापक्रममा निस्कने तातोपानीलाई सङ्कलन गरेको पोखरीमा स्नान थिए ।
सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार बिरेनुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । असोज–कात्तिक, मङ्सिर, पुष, माघ, फागुन, चैत र वैशाख महिना तातोपानी कुण्डमा स्नान गर्ने याम हो।




प्रतिक्रिया