काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमालय संरक्षण र नेपालको आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको बताएका छन्।
चीनमा आयोजित सन् २०२६ को ‘लेजिस्लेटर्स फोरम फर फ्रेन्ड्ली एक्सचेन्जेस’ मा नेपालको प्रतिनिधित्व गर्दै पराजुलीले जलवायु परिवर्तनका चुनौतीसँग जुध्न र उद्योग, शिक्षा तथा प्रविधिका क्षेत्रमा आर्थिक रूपान्तरण हासिल गर्न साझा प्रयास आवश्यक रहेको बताएका हुन्। कार्यक्रममा ५२ देशका सभामुख, उपसभामुख, मन्त्री तथा सांसदसहित ६६ जनाभन्दा बढी कानुन निर्माता सहभागी थिए।
कार्यक्रममा पराजुलीले उद्योग, शिक्षा र नयाँ गुणात्मक उत्पादक शक्तिका विषयमा नेपालको धारणा प्रस्तुत गरेका थिए। उनले हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको प्रभाव, जलवायु न्याय तथा विपद् व्यवस्थापनका विषयमा समेत ध्यानाकर्षण गराए।
हिमालयमा हिमनदी पग्लिने क्रम बढ्नुका साथै बाढीपहिरोजस्ता जलवायुजन्य विपद्ले निम्त्याउने जोखिम कुनै एक देशमा मात्र सीमित नरहने उनको भनाइ थियो। यस्ता चुनौतीको सामना गर्न हिमालय संरक्षण, प्रभावकारी विपद् पूर्वसूचना प्रणाली र जलवायु उत्थानशीलता अभिवृद्धिमा विश्वव्यापी सहकार्य आवश्यक रहेको उनले बताए।
हिमालयमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका सभापतिसमेत रहेका पराजुलीले जलवायुजन्य जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायबीच समन्वय र ऐक्यबद्धता बढाउनुपर्नेमा जोड दिएका थिए।
त्यसैगरी, नेपालको आर्थिक रूपान्तरणलाई गति दिन शिक्षा र उद्योगबीचको सम्बन्ध बलियो बनाउनुपर्ने उनले बताए। व्यावहारिक सीप विकास, अनुसन्धान, नवप्रवर्तन र प्रविधि हस्तान्तरणलाई प्राथमिकता दिँदै शैक्षिक संस्थालाई उद्योगको आवश्यकताअनुसार अघि बढाउनुपर्ने उनको धारणा थियो।
युवालाई स्वदेशमै मर्यादित रोजगारीका अवसर उपलब्ध गराउन शिक्षा, उद्योग र प्रविधिबीच सहकार्य विस्तार गर्नुपर्ने उल्लेख गर्दै पराजुलीले उत्पादनमूलक क्षेत्रको विकासमार्फत नेपालको आर्थिक क्षमता अभिवृद्धि गर्न सकिने बताए।




प्रतिक्रिया