गजेन्द्रमोक्ष धाममा एकमहिने विराट महायज्ञ हुँदै


नवलपुर (नवलपरासी), २८ असोज ।मुलुककै प्रसिद्ध र पवित्र तीर्थस्थल गजेन्द्रमोक्ष दिव्यधाममा आगामी मङ्सिर १ गतेदेखि ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ आयोजना गरिने भएको छ ।

अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को पावन सत्सङ्कल्पमा महायज्ञ मङ्सिर २९ गतेसम्म सञ्चालन हुनेछ ।

महायज्ञमार्फत सनातन धर्म, वैदिक सभ्यता, संस्कार, संस्कृति तथा आध्यात्मिक ज्ञानको संरक्षण र प्रवरद्धनमा टेवा पुग्ने विश्वास लिइएको महायज्ञका प्रचारप्रसार समिति संयोजक अच्युतकृष्ण शरणले जानकारी दिए ।

त्यस्तै, श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमलाई क्रमशःविशिष्ट महाविद्यालयका रूपमा विकास गर्दै वैदिक ज्ञान, संस्कृत शिक्षा, धर्मदर्शन तथा आध्यात्मिक विषयको अध्ययन अनुसन्धान विस्तार गर्न नमुना वैदिक विश्वविद्यालय स्थापनाको दीर्घकालीन लक्ष्यलाई अघि बढाइने उनले स्पष्ट पारे ।

महायज्ञको विशेष आकर्षणका रूपमा विशाल धनधाञ्याचल तथा अष्टाचल स्थापना गरिनेछ । धार्मिक विधिअनुसार निर्माण गरिने धनधाञ्याचलमा विभिन्न देवीदेवताका मूर्ति स्थापना गरी शिरमा भगवान् श्रीशालिग्राम राख्ने योजना रहेको उनले जानकारी दिए ।

धनधाञ्याचललाई नेपालका विभिन्न देवस्थल तथा तीर्थस्थलको यात्रा गराई अन्त्यमा महायज्ञस्थलमा विधिपूर्वक स्थापना गरिने उनको भनाइ छ ।

अष्टाचलमा तिल, जौ, गहुँ, मकै, चना, मासलगायतका अन्न अर्पण गर्न सकिनेछ । श्रद्धालु भक्तजनले आफ्नो घरमा उपलब्ध अन्न श्रद्धापूर्वक अर्पण गरी महायज्ञमा सहभागी हुन संयोजक शरणले आह्वान गरेका छन् ।

महायज्ञका अवसरमा चार वेद, उपनिषद्, १८ पुराण, श्रीमद्वाल्मीकीय रामायण, महाभारत, दिव्यप्रबन्ध तथा विभिन्न स्तोत्रलगायत शास्त्रको पाठपारायण गरिनेछ ।

त्यस्तै, श्रीगजेन्द्रमोक्ष स्तोत्र, श्रीविष्णुसहस्रनाम र मूल रामायणको सहस्रावृत्र् पारायण तथा वैदिक वाङ्मय र गोवंश संरक्षण एवं श्रीसमृद्धिको कामनासहित श्रीपञ्चमहालक्ष्मी हवन आराधना गरिने उनले जानकारी दिए ।

पाँच करोड दीप प्रज्ज्वलन हुने

महायज्ञमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय ख्यातिप्राप्त धर्माचार्य, विद्वान् तथा विदुषीहरूबाट शास्त्रीय प्रवचन प्रस्तुत गरिने कार्यक्रम तय गरिएको छ । राष्ट्रिय धार्मिक कलाकारहरूबाट भजन कीर्तन, देवलीला, झाँकी तथा चेतनामूलक नाटक पनि प्रदर्शन गरिने संयोजक शरणले बताए ।

त्यसैगरी, सयौँ गाईको सामूहिक पूजन, सामूहिक श्रीशालिग्राम तथा गण्डकी पूजन, एक हजार आठ कन्या र बटुक पूजन तथा दैनिक योग एवं ध्यान शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ ।

यस महायज्ञअन्तर्गत पाँच करोड दीप प्रज्ज्वलन गर्ने लक्ष्यसमेत राखिएको उनले बताए । नेपालको तीर्थमय महिमा, जलसम्पदा, प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाको महत्वबारे प्रवचन तथा विमर्श गरिनेछ । ती कार्यक्रममार्फत नेपालको मौलिक सभ्यता, आध्यात्मिक परम्परा र सांस्कृतिक सम्पदाबारे राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने लक्ष्य राखिएको छ ।

यसैबीच, आयोजकले श्रद्धालु भक्तजनसमक्ष प्रत्येक दिन घरमा एक मुठी चामल शुद्ध पात्रमा राखी प्रत्येक दानालाई श्रद्धापूर्वक ‘श्रीराम’ नाम मन्त्रद्वारा अभिमन्त्रित गर्दै छुट्टै बट्टा वा झोलीमा सङ्कलन गर्न विशेष आह्वान गरेको छ ।

सङ्कलित चामल महायज्ञ स्थलमा उपस्थित हुँदा साथमा ल्याई अर्पण गर्न सकिने जनाइएको छ । स्वयं उपस्थित हुन नसक्ने श्रद्धालुले आफ्नो प्रतिनिधिमार्फत चामल पठाउनसक्ने व्यवस्था गरिएको छ ।

श्रद्धालुबाट प्राप्त चामल महायज्ञ अवधिभर दैनिक भगवान् लाई खीरको भोग अर्पण गर्न तथा हवनसम्बन्धी कार्यमा प्रयोग गरिने आयोजकले जनाएको छ ।

त्यस्तै, श्रद्धालुहरूलाई आफ्नो घर आँगन वा मठमन्दिरमा रहेको तुलसीको मठ तथा परम्परागत पितृ पुर्खाको घरको माटो ल्याई महायज्ञमा अर्पण गर्न पनि अनुरोध गरिएको छ । त्यसले व्यक्तिगत घरपरिवार, पितृस्मृति र स्थानीय धार्मिक परम्परालाई सामूहिक धार्मिक अनुष्ठानसँग जोड्ने उद्देश्य राखेको छ ।

विशेष पितृ उद्धार अनुष्ठान

भदौ १० गते भोटेकोशी बाढीका कारण ज्यान गुमाएका तथा नेपालमा विभिन्न समयमा भूकम्प, बाढी, पहिरोलगायत प्राकृतिक विपद् र अन्य कारणबाट असामयिक निधन भएका दिवङ्गत आत्माको सद्गति, चिरशान्ति एवं परम कल्याणको कामनासहित महायज्ञमा विशेष पितृ उद्धार अनुष्ठानसमेत आयोजना गरिने भएको छ ।

वैदिक शास्त्रीय विधि र परम्पराअनुसार दिवङ्गत आत्माहरूको शान्ति, सद्गति तथा पितृ उद्धारको सङ्कल्पसहित तर्पण, होम, पिण्डदान तथा अन्य आवश्यक धार्मिक अनुष्ठान गरिने आयोजकले जनाएको छ ।

उक्त विशेष अनुष्ठानमा आफ्ना दिवङ्गत परिवारजन तथा आफन्तका नाममा सङ्कल्प गराउन इच्छुक व्यक्तिले दिवङ्गत व्यक्तिको फोटो र मृत्यु भएको तिथिमिति महायज्ञ सम्पादन समितिसँग समन्वय गरी उपलब्ध गराउन आग्रह गरिएको छ ।

पुण्यकार्यमा सहभागी भई दिवङ्गत पितृ तथा आफन्तजनको स्मृतिमा श्रद्धा अर्पण गर्न आयोजक गजेन्द्रमोक्ष दिव्यधामले वैदिक सनातनीलाई आह्वानसमेत गरेको छ ।